रौतहट प्रहरीको सक्रियतामा एक वर्षमा साढे पाँच करोडभन्दा बढीको अवैध सामान बरामद

जनकपुरधाम । रौतहटमा प्रहरीको सक्रियतामा आर्थिक वर्ष २०८०/८१ मा साढे पाँच करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाईहरूले विभिन्न नाकाबाट तस्करी गरी भित्र्याइएको ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएका हुन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार बरामद सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

प्रहरीका अनुसार तस्करीमा प्रयोग गरिएका ५ वटा स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० वटा ई–रिक्सा, २४३ मोटरसाइकल र ३३ साइकलसहित २९६ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको छ ।

यही अवधिमा तस्करीमा संलग्न २२ जना विदेशी नागरिकसहित १०३ जनालाई पक्राउ गरी उनीहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत ६४० जनालाई विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दिपक कुमार रायका अनुसार पक्राउ परेका प्रतिवादीहरूमध्येबाट ४८ लाख २९ हजार ९८४ रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ भने ११४ वर्ष १ महिना २० दिनको कैद सजाय भुक्तानका लागि जिल्ला अदालत रौतहटमा पेश गरिएको छ ।