

जनकपुरधाम । जनकपुरधाममा वकिलहरुले पत्रकारमाथि आक्रमण गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गुठी संस्थानसँग लिजमा लिएको जग्गा कब्जा गर्ने क्रममा वकिलहरुले आक्रमण गर्दा महासंघका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय सहित करिब आधा दर्जन पत्रकार घाइते भएका छ्न ।
घाइतेमध्ये महासचिव क्रान्तिको पैताला भाँचिएको छ, अध्यक्ष बन्जाराको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ भने पत्रकार दिवाकरको टाउकोमा चोट लागेको छ । उनीहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।



महासंघले भूतनाथ महादेवको दक्षिणतर्फ रहेको ४ कट्ठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा २० वर्षको लागि गुठी संस्थानसँग लिजमा लिएको थियो । तर नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै सोही जग्गामा कानुन व्यवसायीहरुको गाडी पार्किङका लागि प्रयोग गर्ने घोषणा गरेपछि विवाद सुरु भएको हो ।

महासंघका अध्यक्ष बन्जाराले गुठीसँग सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर सम्झौता भएको बताए । उनका अनुसार बारसँग मौखिक सहमति भए पनि पछिल्लो समयमा बलजफ्ती कब्जा गर्ने प्रयास भयो । बन्जाराले “विद्वान अधिवक्ताहरुको यस्तो व्यवहारले नैतिकता र पेशागत मर्यादामाथि प्रश्न उठेको” टिप्पणी गरे ।
महासंघका महासचिव क्रान्तिले जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित भई प्रस्ताव पास भएपछि साउन १९ गते औपचारिक सम्झौता भएको स्पष्ट पारे ।
यस विषयमा भदौ ५ गते दुवै पक्षबीच छलफल हुने कार्यक्रम तय भएको छ । महासंघले अनावश्यक विवाद सिर्जना गरेर गतिशीलतामा अवरोध गर्ने प्रयास भए पनि अदालतमार्फत न्याय पाउने विश्वास व्यक्त गरेको छ ।