सहिद रामनारायण मण्डल (मुरबल) को २९ औं स्मृति दिवस मनाइयो

जनकपुरधाम । सहिद रामनारायण मण्डल (मुरबल) को २९ औं स्मृति दिवस शुक्रबार धनुषाको शहिदनगर नगरपालिका–६ हरबारामा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममार्फत मनाइयो ।

कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरिया सहितका नेताहरुले सहिद मुरबलको सालिकमा फुलमाला र अबिर अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।

बिज्ञापन

अरगरियाले सहिद मुरबलको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई नेपालको कम्युनिष्ट आन्दोलनका दृढ योद्धा तथा जनताको आँखाको नानीको रुपमा स्मरण गरे । उनले भने, “जनविरोधी र प्रतिक्रियावादी शक्तिहरुले कमरेड मुरबलको हत्या गरेका हुन्, तर उहाँको सपना र मार्ग जनतामा जिउँदै छ।”

२०५३ असोजमा विपक्षी दलका कार्यकर्ताले हत्या गरेका सहिद मुरबलको परिवारलाई समेत आक्रमण गरिएको थियो । उनका जेठो छोराको हत्या भएपछि श्रीमती फूलो देवी र छोरा अपराजय विस्थापित हुनुपरेको स्मरण कार्यक्रममा गरिएको थियो । त्यही समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संरक्षण दिँदै फूलो देवीलाई राजनीति यात्रामा अघि बढाएका थिए । हाल उनी एमालेकी मधेश प्रदेश समानुपातिक सांसद छिन् ।