मधेशका मुख्यमन्त्री सोनलले प्रदेशसभामा पठाए पत्र, गठबन्धन बलियो बनाउन थप दुई दलको समर्थन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मत लिने प्रक्रिया सुरु गरेका छन् । उनले आगामी कार्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्दै प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन् ।

मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिने वातावरण मिलाइदिन प्रदेशसभा सचिवालयलाई पत्रमार्फत अनुरोध गरेका हुन् । उनले विश्वासको मतका लागि आवश्यक कार्यसूची तय गरी प्रदेशसभा बैठक बोलाउन माग गरेका छन् ।

बिज्ञापन

अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएसँगै पाँच राजनीतिक दलको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सिंहले पदत्याग गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको समर्थनमा सोनलले मुख्यमन्त्री दावी पेस गरेका थिए ।

प्रदेश प्रमुखले पाँच दलको संयुक्त दाबीका आधारमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । यसबीचमा नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले पनि सोनल सरकारलाई समर्थन दिएका छन् । यससँगै सोनल नेतृत्वको सरकारको समर्थन संख्या ५७ पुगेको छ ।

१०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम रहेका छन् । संविधानअनुसार विश्वासको मतका लागि प्रदेशसभामा कायम सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ मत आवश्यक हुन्छ । त्यसैले गठबन्धनका दलहरू एकजुट रहँदा सोनलले सहजै विश्वासको मत प्राप्त गर्ने सम्भावना देखिन्छ ।

हाल सरकारमा सहभागी दलहरूमा जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी) का ७ जना, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

गठबन्धनको कार्तिक १२ गते बसेको बैठकले विपक्षमा रहेका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेससँग पनि विश्वासको मतका लागि सहकार्य र समर्थन माग्ने निर्णय गरेको थियो । मुख्यमन्त्री सोनलले विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी समेत गरेका छन् ।

सोनलले मुख्यमन्त्री नियुक्त भएको दोस्रो दिन असोज ३० गते दुई जनालाई विनाविभागीय मन्त्रीको रूपमा नियुक्त गरेका थिए । तर, उनीहरूलाई अहिलेसम्म जिम्मेवारी वितरण गरिएको छैन । विश्वासको मत प्राप्त भएपछि मन्त्रालयहरूको जिम्मेवारी तोक्ने तयारी भइरहेको उनी निकट स्रोतले जनाएको छ ।