
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री आवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत लिन लागिएको जानकारी दिए ।
उनका अनुसार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिए पनि परमादेशको पत्र आफूले मंगलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा प्रदेशसभा सचिवालयमा बुधबारको लागि पत्र पठाइसकिएको छ ।
मुख्यमन्त्री यादवले विश्वासको मत पाउने दाबी गर्दै भने, अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्छ र विश्वासको मत मैले नै पाउँछु । एमालेले मधेशमा जसलाई–जसलाई मुख्यमन्त्री बनाएको छ, ती सबै दलले मलाई साथ दिनेछन् ।




सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता भएका आधारमा मुख्यमन्त्री नियुक्त भएका थिए । अन्य दलहरू बहुमतका आधारमा सरकार गठनका लागि अघि आए पनि तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सो निर्णयमा विवाद उत्पन्न भएपछि संघीय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि यसअघि सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश समेत दिएको थियो ।
