युएईमा जारी सातौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा भारतले स्कटल्याण्डविरूद्ध सानदार जित निकालेको छ।
यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको स्कटल्याण्डलाई शुक्रबार ८ विकेटले हराउँदै भारतले सेमिफाइनल प्रवेश सम्भावना कायमै राखेको हो।
स्कटल्याण्डले दिएको ८६ रनको चुनौती भारतले मात्र ६.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।
भारतलाई सहज जित दिलाउन ओपनर केएल राहुलले ५० र रोहित शर्माले ३० रन बनाए। १९ बल खेलेका राहुलले ३ छक्का र ४ चौका प्रहार गरे। यस्तै १६ बल खेलेका शर्माले ५ चौका र १ छक्का प्रहार गरेका थिए। कप्तान विराट कोहली २ तथा सूर्यकुमार यादव ६ रनमा नटआउट रहे।
स्कटल्यान्डका लागि ब्राड ह्वील र मार्क वाट्टले समान एक–एक विकेट लिएका थिए।
यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रन जोडेको थियो। स्कटल्यान्डका लागि जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे। मिचेल लेस्कले २१, क्यालुम म्याकलिओडले १६ रन बनाउँदा मार्क वाटले १४ रन जोडे। बाँकी कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन्।
भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद शामीले समान ३-३ विकेट लिए भने जसप्रित बुमराहले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए।
यससँगै भारतले अन्तिम चारको सम्भावना बचाइराखेको छ।
यो जितपछि भारतले चार खेलबाट चार अंक जोडेको छ। भारतले दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ।
यो समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा यसअघिनै पुगिसकेको छ। चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा छ। समान २ खेल जितेको अफगानिस्तानको पनि चार खेलमा चार अंक छ। तर रन रेटमा भारतले उछिनेको छ। स्कटल्यान्डले चारै खेलमा हार व्यहोरेर बाहिरिसकेको छ।
भारतले अब समूह चरणको अन्तिम खेल नामिबिया र न्यूजिल्यान्डले अफगानिस्तानसँग खेल्नेछ्न्। न्यूजिल्याण्डले अफगानिस्तानलाई हराउनसाथ सेमिफाइनलमा पुग्छ भने। यदि अफगानिस्तानले जितेको खण्डमा नामिबियालाई भारतले फराकिलो अन्तरमा हराएर अफगानिस्तानलाई रनरेटमा पछि पार्नुपर्नेछ।