
जनकपुरधाम । युवा पुस्ताका चर्चित जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जोडिएका छन् ।
पार्टीले उनलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार बनाउने तयारी गरेको छ ।




रास्वपाले हालै सार्वजनिक गरेको समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक सूचीमा मधेस प्रदेशको सिराहा जिल्लाबाट पुरुषोत्तमको नाम समेटिएको छ । उनको नाम मधेसी कोटाअन्तर्गत सूचीकृत भएको बताइएको छ । पार्टीले आन्तरिक चुनावी प्रक्रियामार्फत समानुपातिक सूचीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाएको छ ।

यादवको रास्वपा प्रवेशलाई पार्टीका प्रवक्ता मनिष झाले पनि पुष्टि गरेका छन् । सामाजिक सञ्जालमा पुरुषोत्तमको तस्बिरसहित पोस्ट गर्दै झाले लेखेका छन्, नेताजीलाई रास्वपामा हार्दिक स्वागत छ ।
पुरुषोत्तम सुप्रभात यादव युवा तथा जेन-जी पुस्ताका मुद्दाहरूमा सक्रिय अभियन्ताका रूपमा परिचित छन् । उनको पार्टी प्रवेशलाई रास्वपाले युवा नेतृत्वलाई प्राथमिकता दिएको सङ्केतका रूपमा हेरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि रास्वपाले समानुपातिक सूची तयारीलाई तीव्रता दिएको छ ।
रास्वपाले विभिन्न प्रदेशका लागि प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै आन्तरिक छनोट प्रक्रिया अघि बढाएको छ । यसै क्रममा पुरुषोत्तमको नाम समावेश भएसँगै मधेस क्षेत्रमा पार्टीको प्रभाव बढ्ने अपेक्षा गरिएको छ ।
