
जनकपुरधाम । धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–बिक्री गर्दै आएको एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले चोरी तथा बिक्री कार्यमा संलग्न सिकिन्द्र यादवसहित १२ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको कब्जाबाट ११ थान चोरीका मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।




जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बहादुर बमका अनुसार पछिल्लो समय जिल्लामा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि विशेष निगरानी तथा अनुसन्धान अभियान सञ्चालन गरिएको थियो । सोही अभियानका क्रममा उक्त गिरोहको गतिविधि पत्ता लागी पक्राउ गरिएको उनले बताए ।

प्रहरी अनुसन्धानमा उक्त समूहले सार्वजनिक स्थल, बजार क्षेत्र, अस्पताल परिसर तथा आवासीय क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने र नम्बर प्लेट परिवर्तन गरी कम मूल्यमा बिक्री गर्दै आएको खुलेको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि चोरी तथा संगठित अपराधसम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाई थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
