मधेशमा सुरक्षा व्यवस्थापन कडाइ, सीमा नाकामा विशेष चेकजाँच

जनकपुरधाम । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको छ ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रदेशभर निगरानी बढाइएको तथा सीमा क्षेत्रमा विशेष चेकपोइन्ट स्थापना गरिएको सुरक्षा निकायले जनाएको छ ।

बिज्ञापन

प्रदेश प्रहरी कार्यालयका अनुसार भारतसँग जोडिएका प्रमुख सीमा नाकाहरूमा सवारी साधन तथा व्यक्तिको आवतजावतमा निगरानी तीव्र पारिएको छ ।

शंकास्पद गतिविधि नियन्त्रण गर्न अस्थायी तथा स्थायी चेकपोइन्टमार्फत नियमित जाँच भइरहेको बताइएको छ ।

त्यसैगरी, जिल्लागत सुरक्षा समितिको समन्वयमा संवेदनशील र अतिसंवेदनशील मतदान केन्द्रहरूको पहिचान गरी त्यहाँ अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मतदान स्थल वरिपरि गस्ती बढाइएको छ भने मतदानको दिन नजिकिँदै जाँदा थप सुरक्षा घेरा मजबुत बनाइने सुरक्षा अधिकारीहरूको भनाइ छ ।

सुरक्षा संयन्त्रले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यकताअनुसार अन्य सुरक्षा निकायबीच समन्वय गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै निकाय तयारी अवस्थामा रहेको जनाइएको छ ।

प्रदेश प्रशासनले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन अपिल गरेको छ ।