
विपिन यादव
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वास्थित श्री फकिर चन्द गामी माध्यमिक विद्यालयबाट २०३३ सालमा एसएलसी परीक्षा दिएका पूर्वविद्यार्थीहरूको स्वर्ण जयन्ती (५० वर्ष) अवसरमा मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ ।
‘एसएलसी ब्याच २०३३’ समूहको आयोजनामा शनिबार भएको कार्यक्रममा ५० वर्षपछि सहपाठीहरू एकै ठाउँमा भेला भएका थिए । सहभागीहरूले पुराना सम्झना साटासाट गर्दै आत्मीय पुनर्मिलनको खुसी व्यक्त गरेका थिए ।




कार्यक्रमको अध्यक्षता अशोक साहले गरेका थिए भने सञ्चालनसहित विभिन्न समन्वयात्मक भूमिका रामहृदय यादवले निर्वाह गरेका थिए ।

कार्यक्रममा विद्यालयका भूपू शिक्षक भूपलाल श्रेष्ठ प्रमुख अतिथि तथा जीतनारायण साह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा उनीहरूको शैक्षिक योगदानको कदर गर्दै सम्मानसमेत गरिएको आयोजकले जनाएको छ ।
सहभागीहरूले यस्ता पुनर्मिलन कार्यक्रमले पुराना सम्बन्धलाई पुनः ताजा बनाउनुका साथै मित्रता, एकता र आपसी सम्मानलाई थप मजबुत बनाउने बताएका छन् ।