केपी ओलीलाई भोट नहालेका झापालीहरू पछुताइरहेका छन् : सचिव बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भोट नदिएका झापाली मतदाताहरू अहिले पछुताउन थालेको टिप्पणी गर्नुभएको छ ।

उहाँका अनुसार चुनावका बेला परिवर्तन, विकास र नयाँ राजनीतिक संस्कृतिको नाराबाट प्रभावित भएर केही मतदाताले निर्णय परिवर्तन गरी वैकल्पिक शक्तिलाई समर्थन गरेको भए पनि अहिले झापामा देखिएको बजेट र विकास योजनाको अवस्थाप्रति निराशा बढ्दै गएको छ । ‘चुनावताका परिवर्तन, विकास र नयाँ राजनीतिक संस्कृतिका ठुला नाराले प्रभावित भएर मत परिवर्तन गरेर घण्टीमा भोट हालेर बालेनलाई अत्यधिक मत दिएर जिताएका मतदाताले अहिले यो वर्षको झापाको बजेट र विकास योजनाको हालत हेर्दा निराश भएका छन्’, उहाँले लेख्नु भएको छ ।

बिज्ञापन

उहाँले झापामा विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा राष्ट्रिय गौरवका ठुला पूर्वाधार परियोजनाहरू अघि बढाइएको दाबी गर्नुभयो । सडक, पुल, औद्योगिक क्षेत्र, ऊर्जा तथा दीर्घकालीन विकास योजनाहरूमार्फत झापालाई राष्ट्रिय विकासको केन्द्रका रूपमा अघि बढाइएको उहाँको भनाइ छ । ‘केपी शर्मा ओली नेतृत्वमा रहँदा झापामा राष्ट्रिय गौरवका ठुला पूर्वाधार विकासका धेरै योजनाहरू परेका थिए, सडक, पुल, औद्योगिक क्षेत्र, ऊर्जा तथा अन्य दीर्घकालीन विकास परियोजनाहरूले झापालाई राष्ट्रिय विकासको केन्द्रमा राखिएको थियो’, उहाँले स्मरण गराउनु भएको छ ।

उहाँले वर्तमान अवस्थामा पनि त्यही क्षेत्रका नागरिकबाट अझ बढी विकास र उपलब्धिको अपेक्षा स्वाभाविक रहेको उल्लेख गर्दै आफ्नै निर्वाचन क्षेत्रमा अपेक्षित प्राथमिकता नपाउँदा प्रश्न उठ्नु असामान्य नभएको धारणा राख्नुभएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा झापा केन्द्रित ठुला र उल्लेखनीय आयोजना नदेखिएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको उहाँको भनाइ छ । उहाँले विकासभन्दा प्रचारमुखी शैली हाबी भएको भन्दै जनस्तरमा त्यसप्रति प्रश्न उठ्न थालेको बताउनुभएको छ । ‘नयाँ नेतृत्वबाट अझ बढी उपलब्धिको अपेक्षा स्वाभाविक थियो, आफ्नै निर्वाचन क्षेत्रले अपेक्षा गरेअनुसार प्राथमिकता नपाउँदा प्रश्न उठ्नु स्वाभाविक नै हो’, बस्नेतले स्पष्ट पार्नु भएको छ ।

उहाँले जनताले नाराभन्दा नतिजा, प्रचारभन्दा विकास र लोकप्रियताभन्दा कामलाई बढी मूल्याङ्कन गर्ने उल्लेख गर्दै राजनीति अराजकता, अवसरवाद र लोकप्रियतावादका आधारमा दीर्घकालीन रूपमा सफल हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । ‘जनताले नाराभन्दा नतिजा, प्रचारभन्दा विकास र लोकप्रियताभन्दा कामको मूल्याङ्कन गर्छन्, अराजकता, अवसरवाद र पपुलिजमका भरमा राजनीति गर्न सजिलो होला, तर जनताको विश्वास जोगाउन विकासको स्पष्ट परिणाम देखाउनै पर्छ। आज झापामा सुनिन थालेका गुनासा र पछुतोका आवाजहरू त्यसैको प्रतिबिम्ब हुन्, बस्नेतको धारणा छ ।