
काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेशनमा गोली प्रहार गरी नियन्त्रणमा लिइएको कारबाट ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा दुई भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ ।
ब्युरोका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको रातो रंगको सुजुकी कारमार्फत ठूलो परिमाणमा ट्रामाडोल भित्र्याइँदै गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।




असार ३० गते ललितपुर महानगरपालिका–२३ स्थित गैरीगाउँ क्षेत्रमा निगरानीका क्रममा उक्त कार र त्यसको सुरक्षा तथा समन्वयमा रहेको बा. ५२ प.५४५७ नम्बरको मोटरसाइकललाई रोक्न खोजिएको थियो । तर चालकले प्रहरीको संकेत अटेर गर्दै भाग्न खोजेपछि कारको पछाडिको दाहिनेतर्फको टायरमा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

त्यसपछि गरिएको खानतलासीका क्रममा कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको थियो । प्रहरीले घटनास्थलबाट सुजुकी कार, यामाहा एफजेड मोटरसाइकल तथा पाँच थान मोबाइल फोनसमेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारत बिहार राज्य सितामढी जिल्ला जानकीस्थान वडा नं. १८ का ३२ वर्षीय अहमद लडुन र सोही जिल्लाका वडा नं. ६ का ३३ वर्षीय महमद सहाम रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबासचन्द्र बोहोराले लागूऔषध तस्करी नियन्त्रणका लागि ब्युरोले सूचना सङ्कलन, निगरानी र अपरेशनलाई थप प्रभावकारी बनाएको बताउँदै यस्ता अवैध गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने बताए ।
उनले लागूऔषध ओसारपसारका नयाँ शैली र सञ्जालमाथि समेत निगरानी बढाइएको उल्लेख गर्दै सीमा क्षेत्रदेखि राजधानीसम्म हुने अवैध कारोबार नियन्त्रणका लागि विशेष अभियान जारी रहने जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । एसएसपी बोहोराले ब्युरोको कमाण्ड सम्हालेको एक हप्ता मात्र भएको छ ।