 

श्रवण देव घटना १ : सिरहाको लहान नगरपालिका-२२ मा तीन जना साथी खेलिरहेको अवस्थामा १२ असारमा गोली चल्यो । १९ बर्षीय सुशान्त चौधरीले पेस्तोल पड्काउँदा १८ बर्षका दिलिप मुखियाको पेटमा गोली लाग्यो ।
दिलिपको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।




दिलिप, सुशान्तका साथै सुरज मुखियासमेत एकै ठाउँमा बसेर खेलिरहेको अवस्थामा गोली चलेको प्रहरीको भनाइ छ । सुशान्तले आफूलाई सुरजले पेस्तोल दिएको र सुरज पनि अर्कै व्यक्तिबाट पेस्तोल पाएको खुलेको प्रहरीले जनाएको छ ।

घट्नास्थलबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली र घटनास्थल नजिकैको बाँसघारीबाट एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ ।
घटना २ : धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ स्थित थापा चोकमा बस्ने मनिष अधिकारीले श्रीमतीसँग विवाद भएपछि १३ असारको राति पेस्तोलबाट गोली पड्काए । आफ्नै घरको छतमा गोली चलाएको सूचना पाएपछि १४ असारको बिहान पुगेको प्रहरी टोलीले अधिकारीलाई अटो पिस्टन यूएसए लेखिएको एक थान पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली तथा एक थान म्याग्जिनसहित नियन्त्रणमा लिएको छ ।
घटना ३ : २१ असारमा सर्लाहीको हरिवन नगरपालिका-११ स्थित सुनिता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भयो । पसलभित्र झोलामा राखिएको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएपछि पसल संचालक छोटेलाल दासलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना ४ : सिम्रौनगढ नगरपालिका–१ का २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया २३ असारमा कटुवा पेस्तोलसहित पक्राउ परे । हतियार देखाएर धम्की दिइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुई साताभित्रै मधेस प्रदेशका चार ठाउँबाट साना हतियार बरामद भएको दृष्टान्त हुन् । सशस्त्र विद्रोह छाडेर माओवादी शान्ति प्रक्रियामा आएपछि तराई मधेस सशस्त्र समूहहरुको बिगबिगी थियो । अहिले सशस्त्र समूहहरु लगभग छैनन् । तर सानो हतियारको बिगबिगी कायमै छ । सामान्य विवाद हुँदा पनि गोली चल्ने गरेको छ ।
धनुषाको नगराइन नगरपालिका-८ स्थित अकौराका जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा २ जेठको राति गोली नै चल्यो । दुबै पक्षबीच कुटाकुट हुँदा ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेका थिए । घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली बरामद गरेको थियो । अरु पनि यस्ता दर्जनौं घटना छन् ।
दुई बर्षमा ६८ हतियार बरामद, १ सय २८ जना पक्राउ
दुई आर्थिक बर्षमा ६८ वटा साना हतियार बरामद भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ३६ वटा साना हतियार, त्यसमा लाग्ने ३४ वटा गोली र ८ वटा म्याग्जिन तथा चालू आर्थिक वर्षको जेठसम्म ३२ वटा साना हतियार, त्यसमा लाग्ने ४८ वटा गोली र ५ वटा म्याग्जिन बरामद भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा १६ वटा ठूला हतियार र त्यसमा लाग्ने ५१ वटा गोली बरामद भएको छ । चालू आर्थिक वर्षको जेठसम्म ९ वटा ठूला हतियार र त्यसमा प्रयोग हुने ५ वटा गोली बरामद भएको छ ।
यी हतियारसहित दुई बर्षमा १ सय २८ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७७/७८ मा ७५ जना पक्राउ पर्दा चालू आर्थिक वर्षको जेठसम्म ५३ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
कुन जिल्लाबाट कति हतियार बरामद ?
जिल्लागत हेर्ने हो भने आर्थिक वर्ष २०७७/७८ मा सप्तरीबाट दुई साना हतियार त्यसमा प्रयोग हुने दुई गोली र दुई ठूला हतियारसहित पाँच जना, सिरहाबाट १० साना हतियार र नौ राउण्ड गोलीसहित १६ जना, धनुषाबाट ६ साना हतियार त्यसको एक राउण्ड गोली र दुई ठूला हतियारसहित ११ जना, महोत्तरीबाट ४ साना हतियार त्यसमा लाग्ने ८ राउण्ड गोली, एउटा ठूलो हतियार र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् ।
यस्तै, सर्लाहीबाट तीन साना हतियार, त्यसमा लाग्ने दुई राउण्ड गोली, ठूला हतियारका तीन राउण्ड गोलीसहित आठ जना, रौतहटबाट तीन साना हतियार, त्यसमा लाग्ने एक राउण्ड गोलीसहित तीन जना, बाराबाट तीन वटा साना हतियार र त्यसमा लाग्ने चार राउण्ड गोली, सात ठूला हतियार र त्यसमा लाग्ने ४३ राउण्ड गोलीसहित आठ जना तथा पर्साबाट पाँच थान साना हतियार, त्यसमा लाग्ने चार राउण्ड गोली, एउटा ठूला हतियार र त्यसमा प्रयोग हुने चार राउण्ड गोलीसहित १६ जना पक्राउ परेका छन् ।
चालू आर्थिक वर्षको जेठसम्म सप्तरीबाट दुई साना हतियार, त्यसमा प्रयोग हुने १६ राउण्ड गोलीसहित दुई जना, सिरहाबाट एक थान ठूलो र एक थान सानो हतियारसहित दुई जना, धनुषाबाट ६ वटा साना हतियार, त्यसमा प्रयोग हुने ६ राउण्ड गोली, ठूला हतियारका एक राउण्ड गोलीसहित सात जना, महोत्तरीबाट दुई साना हतियारसहित दुई जना पक्राउ परेका छन् ।
सर्लाहीबाट सात वटा साना हतियार, त्यसमा प्रयोग हुने आठ राउण्ड गोलीसहित ६ जना, रौतहटबाट तीन थान साना हतियार, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, दुई वटा ठूला हतियार र त्यसमा प्रयोग हुने तीन राउण्ड गोलीसहित नौ जना, बाराबाट ६ वटा साना हतियार, त्यसमा प्रयोग हुने चार राउण्ड गोली, चार वटा ठूला हतियार र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित १३ जना तथा पर्साबाट पाँच वटा साना हतियार, त्यसमा प्रयोग हुने १२ राउण्ड गोली, दुई वटा ठूला हतियारसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआइजी मसऊद आलम खाँ खुल्ला सिमाना भएका कारण साना हतियार भारतबाटै बढी आइरहेको बताउँछन् । ‘पारीपट्टीबाटै साना हतियार आइरहेको देखिएको छ’ उनले भने, ‘कतिपय भारतीयलाई नै यता हतियार बेच्न आएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।’
उनले हतियार नियन्त्रण गर्न प्रहरी लागिपरेको बताए । ‘हामी निरन्तर हतियार समातिरहेका छौं’ उनले भने ।
 
                 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          