जनकपुरधाममा बुधबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेश प्रदेशमा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेको लहर नै चलेको दाबी गरे ।
वामपन्थी भनेर, कम्युनिष्ट भनेर अनेक प्रकारका नाराहरु लगाई राख्या छ, कम्युनिष्ट पार्टी फुटाउने, जुटाउने, कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको पाउँमा लगेर सरकार झुकाउने, विकासको काम रोक्ने, सुशासन खलबलाउने अनि फेरि कम्युनिष्टको नाम लिने, यस्ताहरुको जालझेलमा नपर्न अध्यक्ष ओलीले आग्रह गरे ।
‘कम्युनिष्ट भनेको देशभक्त र विकास हाँक्न सक्ने हो’ उनले भने, त्यो भनेको एक मात्र एमाले पार्टी हो । विकास चाहनेहरु, सुशासन चाहने साथीहरु एमालेमा आउनुस्, यति मान्छे अटाएको छ, तपाईहरु नअटाउने कुरै हुँदैन । आउनुस्, हामी सबैले मिलेर देश बनाउँ ’ उनले भने । २०७४ सालको निर्वाचनमा हामीलाई मधेश प्रवेश गर्न दिएनन, अध्यक्ष ओलीले भने–‘तर २०७९ सालको निर्वाचनमा मधेशको नम्बर एक पार्टी बन्यो । तर अहिले पनि हामीसँग सरकार बनाउने आवश्यक सिट छैन । २५ सिट मात्रैले सरकार बन्दैन । त्यसकारण आगामी निर्वाचनमा ६० सिट ल्याउने गरी तपाईहरु तयारी गर्नुस् ।’
नेकपा एमालेको सरकार नबनेसम्म मधेशको विकास र समृद्धि नहुने अध्यक्ष ओलीको भनाइ थियो । एमाले प्रतिको जनलहर, एमालेको काम गराई देखेर कांग्रेस र माओवादी पार्टी आतिएको भनेर अध्यक्ष ओलीले टिप्पणी समेत गरे । पार्टीले लिएको मिसन २०८४ लाई मध्यनजर गर्दै त्यसको तयारीमा अहिलेदेखि लाग्न अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।