अप्पन जनकपुर
जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी इन्स्पेक्टर सूर्यबहादुर शाहीले ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरू चुनौतीहरू र समाधानका उपायहरूबारे विस्तृत जानकारी गराउँदै संचारकर्मीहरूसँग सक्रिय छलफल गरेका छन् ।
उनले तिव्र गतिका कारण पछिल्लो समय दुर्घटनाको संख्या बढिरहेको जनाउँदै त्यसलाई नियन्त्रण गर्न विशेष सुरक्षा व्यवस्था लागू गरिने जानकारी दिए । गति नियन्त्रणका लागि महत्वपूर्ण स्थानहरूमा ट्राफिक चेक पोस्टहरू सचेतनामूलक बोर्डहरू र आवश्यक प्राविधिक उपायहरू लागू गरिने बताइएको छ ।
उनले विशेषगरी जनकपुरधाम क्षेत्रका विद्यालय बसहरूले बिहान र बेलुकी समयमा जामको समस्या निम्त्याउने गरेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न आवश्यक रणनीति बनाइने बताए ।
साथै जनकपुर प्रादेशिक अस्पताल अगाडिको सडकमा बारम्बार जाम लाग्ने समस्या पनि गम्भीर रूपमा उठाइएको थियो । अस्पताल क्षेत्रको सडक अस्तव्यस्त हुने भएकाले त्यहाँ विशेष ट्राफिक व्यवस्थापन आवश्यक रहेको उनले स्पष्ट पारे ।
इन्स्पेक्टर शाहीले ट्राफिक नियमको पालना जनचेतनामूलक अभियान सवारी साधनको चाप घटाउने उपायलगायतका विषयमा समेत संचारकर्मीहरूबाट सुझाव लिएका थिए ।
कार्यक्रममा संचारकर्मीहरूले ट्राफिक प्रहरीको भूमिकालाई सशक्त बनाउनका लागि जनसंवाद र सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
आज एक परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्दै संचारकर्मीहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।