अप्पन जनकपुर
जनकपुरधाम । सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा स्थायी पुल निर्माणको माग गर्दै आगामी आर्थिक वर्षको बजेटमा यसलाई समावेश गर्न मधेश प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
वडाध्यक्ष यादवले आइतबार संचारकर्मीहरु संग कुरा गर्दै पटक–पटक आग्रह गर्दा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे । यदि यो मागलाई अबको बजेटमा समावेश नगरेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि अनशन बस्न बाध्य हुने चेतावनीसमेत उनले दिए ।
कमला नदीले वर्षेनी यहाँका बासिन्दालाई सास्ती दिँदै आएको छ, यादवले भने, यदि प्रदेश सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएन भने म अनशनमा बस्न बाध्य हुनेछु ।
स्थानीयवासीका अनुसार स्थायी पुल नहुँदा सिरहा र धनुषाका सीमावर्ती बस्तीका हजारौं नागरिकलाई दैनिक आवागमनमा कठिनाइ हुँदै आएको छ । विशेष गरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा आवतजावत नै बन्द हुने समस्या छ ।
वडाध्यक्ष यादवले अब आश्वासनको होइन, काम देखाउने बेला आएको बताए ।हामीलाई आश्वासन होइन, ठोस काम चाहिएको हो, उनले भने ।
उनले संघीय सरकारले कमला पुलको विषयलाई बेवास्ता गरिरहेको आरोपसमेत लगाए । संघीय सरकारबाट अपेक्षा गर्न सक्ने अवस्था छैन । त्यसैले हामीले अब मधेश प्रदेश सरकारलाई नै बजेट छुट्याएर पुल निर्माण अघि बढाउन माग गरेका हौं, यादवको भनाइ छ ।