सर्लाही । सर्लाही प्रहरीले भारतको सितामढीबाट हराएकी एक नेपाली बालिकालाई सकुशल उद्धार गरेर नेपाल फर्काएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सई सुवास यादवको नेतृत्वमा भारतीय प्रहरीसँग समन्वय गर्दै उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो ।
सर्लाहीको चक्रहरिया गाउँपालिका–खोरियाबाट जेठ २२ गते हराएकी बालिका भारत पुगेको सूचना प्राप्त भएपछि खोजी कार्य तीव्र बनाइएको थियो । प्रारम्भिक अनुसन्धानबाट ती बालिका मदनपुर निवासी विवेक गिरीसँगको सम्बन्धका कारण भारत गएको हुन सक्ने जानकारी प्राप्त भएको थियो ।
बालिकाकी आमा रिनादेवीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि अनुसन्धान अघि बढाइएको थियो । सूचना प्रणालीको प्रयोग गर्दै सई यादवले बालिका भारतको सितामढीमा रहेको पत्ता लगाई भारतीय प्रहरीसँग समन्वय गर्दै उद्धार गरेका हुन् ।
सर्लाहीका डिएसपी सरोज राईले तीव्र सुराकी र दुवै देशका सुरक्षाकर्मीबीचको सहकार्यकै कारण बालिका छोटो समयमा उद्धार भएको जानकारी दिए । उनले भने, “समन्वयकारी रूपमा काम गर्दा यस्तो जटिल समस्या समाधान गर्न सजिलो हुन्छ ।”
स्थानिय वडा नं. ९ का अध्यक्ष विजय कुमार यादवले सई यादव नेतृत्वको टोलीको सक्रियतालाई प्रशंसा गर्दै यस्तो कार्य अन्य घटनाहरूका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे ।
ईलाका प्रहरी कार्यालय कर्मैयामा कार्यरत सई सुवास यादव विगतमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको महिला तथा बालबालिका सेवा कक्षमा कार्यरत रहँदा विभिन्न मितिहरूमा २५ जना नेपाली बालबालिकालाई भारतबाट सकुशल उद्धार गरिसकेका छन् ।
त्यस्तै, उनले विभिन्न समयमा १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको प्रहरी स्रोतले जनाएको छ ।
यस प्रकारको निरन्तर सक्रियता, सहकार्य र व्यावसायिक निष्ठाले समुदायमा सुरक्षा तथा प्रहरीप्रति विश्वास सुदृढ बनाउन सई सुवास यादवको भूमिका उल्लेखनीय रहेको देखिन्छ ।