
जनकपुरधाम । बर्दिबास नगरपालिका-१४ को एकीकृत नमुना मुसहर बस्तीमा जन्मिएका मञ्जय सदा त्यहाँको प्रेरणाको स्रोत मात्र होइनन् देशकै उदाहरण बनेका छन् ।
एउटा फुस्रो झुपडीमा हुर्किएका उनलाई स्कुल पढ्न जानुपर्छ भन्ने कुरा एकादेशको कथा जस्तै लाग्थ्यो । उनले अहिले सबै सेमेस्टरमा पहिलो डिभिजनसहित स्नातकोत्तर (एमबीएस) पास गरेका छन् ।






उनको बाल्यकाल भोक, गरिबी र अभावसँग संघर्ष गर्दै बित्यो । आमाबाबुको कमजोर आम्दानीले परिवारको जिम्मेवारी धान्न गाह्रो थियो ।
तर, मञ्जयको आँखा सधैं पुस्तकतिर लाग्थ्यो । विद्यालय जाँदा उनले चप्पल लगाएका हुन्थेनन्, तर मनमा ठूलो सपना बोकेका थिए । मुसहर बस्तीमा सबैभन्दा बढी पढेका एक्ला हुन् मञ्जय ।
मञ्जयलाई पढाइभन्दा घरयासी काम बढी गर्नुपर्थ्यो। बेलुकी मट्टीतेलको उज्यालो (टुकी) मा पढ्थे उनी । गाउँका धेरै साथीहरूले पढ्न छाडे, तर उनी दृढ थिए। त्यसैले नै उनको जीवनको मोड बन्यो पढाइ ।
हरेक दिन मिहिनेत गर्दै आमा बाबाको सपना पूरा गर्ने सोचले हरेक परिस्थितिसँग उनी लड्न सिके ।
आँखाभरिको सपना, अनि पढ्ने थुप्रै रहर , हरेक दिन मिहिनेत गर्ने र आफू,परिवार, समाजमा केही परिवर्तन ल्याउने सोचले हरेक दिन उनलाई धकेली रह्यो ।
अहिले उनले मुसहर समुदायको अँध्यारो जीवनलाई उज्यालो मात्रै बनाएका छैनन् । मञ्जय मुसहर समुदायको आशा, भरोसा र सबैको प्रेरणाको स्रोत बनेका छन् ।
अभावै-अभावमा सफलता
पुस्तौंनी गरिबी । जंगलको दाउरा बिक्री गरेर छाक टार्नु पर्ने । नयाँ- नयाँ किताब किनेर पढ्ने रहर लागेपनि त्यो नहुँदा उनले परिस्थितिको सामाना गर्दै पढ्नु पर्यो ।
घाम झुल्किनासाथ बस्तीमा झगडा र होहल्ला सुरु हुन्थ्यो । बस्तीका हरेकजसो मानिस रक्सी पिउँथे र रातभर झगडा गर्थे ।
बस्तीको त्यस्तो अवस्थाका बाबजुद मञ्जय पढाइका लागि संघर्ष गर्दै अघि बढिरहे । अरूले झगडा गरेर डिस्टर्भ गर्छन् भनेर साँझै सुत्न थालेको थिएँ। अनि अरू सुतेपछि उठेर रातभर पढ्थें ।
२०७१ सालमा मञ्जय बस्तीबाटै पहिलो एसएलसी उत्तीर्ण हुँदा उनका बुवा लक्ष्मी सदामा खुसीको सीमा नै थिएन । त्यसबेला गाउँलेलाई भोज खुवाएर खुसी साटेका थिए ।
खुसीयालीसँगै मञ्जयको खुसी पनि तीव्र गतिमा अघि बढ्दै गयो । स्कुलतहदेखि नै आफ्नो लागि कापी किताबका लागि पैसा आफै जुटाउन थाले । आफ्नो र घरको आवश्यकता पूरा गर्न काम नि गर्थे ।
उनको अम्दानीको स्रोत बन्यो ‘प्लस टु’ देखि ट्युसन कलेज पढ्न थालेदेखि स्कुल । आमा बुबा र दाइको आँखामा आशु देख्दा उनलाई रात भरी निद्रा लाग्दैन थियो ।
अनि सोच्थे मैले पढ्नु पर्छ, जिन्दगी बदल्नु पर्छ आमा र दाइलाई सम्झने बितिकै हरेक समस्याको समाधान निकाल्न सक्ने उनलाई परिस्थितिमा पनि साथ दियो ।
पढाइमा लगनशील मञ्जयले एसएलसी उत्तीर्ण गरेकै बर्दिबासको जनता माध्यमिक विद्यालयबाट २०७४ मा आर्थिक चुनौतीबीच सहजै प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे । निकै दु:ख गरेर तीनै मञ्जयले स्नातकोत्तर (एमबीएस) उत्तीर्ण गरेका छन् ।
बुवाले देख्न नपाएका खुशी
मञ्जयले एसएलसी उत्तीर्ण गर्दा समुदायमै खुसी बाँड्ने बुवा लक्ष्मी अहिले यो संसारमा छैनन् । मेरो कमाइ खान पाउनु भएन । उनले मनमा सधै सम्झिरहेको शब्द त्यही नै हो ।
एक्लै हुँदा बुवालाई सम्झेर कतिखेर आँखाबाट आँसु झर्छ पत्तै हुँदैन । अहिले बाबाको सपना पूरा गर्ने लक्ष्यले अगाडि बढिरहेको उनि भन्छन् अहिले लोकसेवाको तयारी गर्दैछु ।
परिचयसँगै फेरिएको पहिचान
मञ्जय शिक्षकमात्र होइनन्, अँध्यारो बस्तीको चम्किलो प्रेरणाको स्रोत बनेका छन् । अहिले बस्तीका सबै बालबालिका विद्यालय गइरहेका छन् ।
मुसहर बस्तीका बासिन्दासँग रमाउँदै मञ्जय (पहेलो हेरामा)
त्यस बेला त्यो बस्तीबाट उनीमात्रै विद्यालय जान्थे । विद्यालय भए पनि बस्तीका अरू बालबालिका शिक्षाको ज्योतिभन्दा बाहिरै थिए ।
कुनै बेला हुनेखानेबाट हेपिएका मञ्जयको परिचयसँगै पहिचान फेरिएको छ । मुसहर समुदायको संस्कार र चरम गरिबीको चुनौतीबाट उम्किएका उनलाई बजारमा धेरैजसोले ‘मञ्जय सर’ भनेर सम्बोधन गर्छन् ।
पढ्ने बेलामा उनलाई गिज्याउने बस्तीका मुसहरहरू अहिले मास्टर साब भनेर सम्मान गर्छन् । अहिले मञ्जय जनता नमुना माध्यामिक विद्यालयका करार शिक्षक हुन् ।
प्रेरणाको स्रोत धुर्मुस- सुन्तली
मञ्जयले प्रेरणाको स्रोत सीताराम कट्टेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) लाई नै सम्झन्छन् । धुर्मुस-सुन्तली फाउन्डेसन कै पहलमा ठडियो मुसहर नमूना बस्ती । पक्की घरसँगै मुसहरको दैनिकी पनि फेरिएको छ ।
शिलान्यासदेखि नै मुसहर बस्तीको विकास (आवास, विद्यालय, सडक, पूर्वाधार) मा मञ्जय सदा सक्रिय थिए । मञ्जयको योगदानले केवल व्यक्तिगत सफलतामात्र नभई मुसहर समुदायले पनि आफूलाई योग्य र समान हेर्न सुरु गरेको ठूलो सामाजिक परिवर्तन ल्याएको छ ।
प्रत्येक दिन उज्यालो हुनासाथै धुलोमा लडिबुडी गर्दै हुल बाँधेर मुसा खोज्न निस्कने मुसहर बालबालिका तालिका नै बनाएर पढाइका लागि विद्यालय जान थालेका छन् ।
आफ्ना हकहित र अधिकारका कुरामा पूरै बेखबर रहेर एकाबिहानैदेखि रक्सी खाएर लठ्ठिने धेरैजसोले रक्सी खान पिउन नै छाडेका छन् । समाज परिवर्तनको मुख्य पात्र हुन् मञ्जय सदा ।
उनले शिक्षा, अधिकार र आत्मसम्मानका नयाँ खाका भेट्टाएका छन् । मञ्जयको खुशीमा धुर्मुस-सुन्तलीले समाजिक सञ्जालबाट खुशी साटेका छन् ।