
जनकपुरधाम । ट्राफिक नियम पालनामा सर्वसाधारणको सहभागिता र सचेतना अभिवृद्धि गर्न ईलाका प्रहरी कार्यालय खजुरीले सोमबार जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
जनकनन्दिनी गाउँपालिका–३ महुवादेखि खजुरीतर्फ आउने–जाने सडकखण्डमा आज बिहान १० बजेदेखि सवारी चेकजाँच तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रम प्रहरी सई दिपेन्द्र बहादुर बस्नेतको कमाण्डमा पाँच जनाको टोलीले सञ्चालन गरिएको थियो ।






सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गरी हेलमेट नलगाई दुई/दुई जना सवार भएर आएका १५ वटा मोटरसाइकल र तिनका चालकहरूलाई प्रहरी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खजुरीमा ल्याइएको थियो ।
प्रहरीका अनुसार ती चालकहरूलाई हेलमेटको आवश्यकता, दुर्घटना न्यूनीकरणमा यसको भूमिका, ट्राफिक नियमको महत्त्व लगायत विषयमा जानकारी दिँदै सचेत बनाइएको हो । कारबाहीका सट्टा उनीहरूलाई सम्झाई–बुझाई गरी चेतावनीसहित छाडिएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रमुख इन्स्पेकटर बबिन्द्र नेवाङ्गले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय खजुरीका अनुसार यस्तो कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै नागरिकमा ट्राफिक सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि गराउने लक्ष्य राखिएको छ ।