
काठमाडौं । भारतले नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापन परियोजनाको शुभारम्भ गरेको छ । नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापनलाई सुदृढ बनाउन संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमको सहयोगमा भारतले नयाँ सहयोगी पहल सुरु गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतको विदेश मन्त्रालयले शुक्रबार नयाँ दिल्लीमा सुरु गरेको यो पहल भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहलको एक हिस्सा रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।






‘नेपालमा यो परियोजनाले भारतको सफल सार्वजनिक वितरण प्रणाली (पीडीएस) सँग ज्ञान आदानप्रदानलाई सहज बनाएर नेपालको स्तरोन्नति गरिएको चामल आपूर्ति श्रृंखलामा विशेष गरी खरिद प्रक्रिया, तथ्याङ्क सङ्कलन र दक्ष कार्यबलमा रहेका समस्यालाई सम्बोधन गर्नेछ । यस परियोजनाले नेपालका सरोकारवालाहरुलाई कुशल खाद्य आपूर्ति श्रृंखला व्यवस्थापनको लागि डिजिटल प्रविधिहरुको उपयोगमा भारतको अनुभवबाट सिक्ने अवसर प्रदान गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
यो परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ । ‘पहिलो चरण आवश्यकता मूल्याङ्कन र सरोकारवालाहरूको संलग्नतामा केन्द्रित हुनेछ । दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र विशेषज्ञहरूद्वारा संक्षेपीकरणसहित नेपाली अधिकारीहरूका लागि भारतको अध्ययन भ्रमण समावेश हुनेछ । तेस्रो तथा अन्तिम चरण कार्य योजनाको विकासमा केन्द्रित हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यो परियोजनाको प्रशिक्षण खण्ड भारत सरकारको भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) कार्यक्रम मार्फत कार्यान्वयन गरिनेछ । सन् २००१ यता ३००० भन्दा बढी नेपाली अधिकारीहरूले यसअघि आइटेक कार्यक्रम अन्तर्गत भारतमा तालिम प्राप्त गरिसकेका छन् ।’
परियोजनाले भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीलाई प्रतिबिम्बित गर्ने भारतीय दूतावासको दाबी छ । विज्ञप्तिमार्फत दूतावासले भनेको छ, ‘यो परियोजनाले भारत र नेपाल बीचको बलियो र जीवन्त विकास साझेदारीलाई प्रतिबिम्बित गर्दछ । यसले दक्षिण-दक्षिण सहकार्य मार्फत नवप्रवर्तनहरू साझा गर्ने र उत्थानशील खाद्य प्रणाली निर्माण गर्ने दुवै देशहरूको साझा प्रतिबद्धतालाई सुदृढ बनाउँदछ ।’