धनुषाको दुहबीमा गोली चल्यो

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ अन्तर्गत पर्ने दुहबी बोर्डर क्षेत्रमा सशस्त्र प्रहरीले बुधबार साँझ दुई राउन्ड गोली प्रहार गरेको छ ।
भारतबाट अवैध रूपमा सामग्री भित्र्याउने प्रयास भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल (एपीएफ) को टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीका अनुसार साँझ करिब ८ बजे नेपाल–भारत सीमा क्षेत्रको दशगजामा तस्करी गतिविधि भइरहेको जानकारी पाएपछि टोलीले निगरानी तीव्र पारेको थियो ।
तस्करी नियन्त्रणको प्रयास गर्दा अवस्था तनाबग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो ।
गोली प्रहारबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । सशस्त्र प्रहरीले तस्करी रोक्न चेतावनीस्वरूप मात्रै गोली चलाइएको दाबी गरेको छ ।

बिज्ञापन