

सिरहा । सिरहा सदरमुकामस्थित हेमनारायण चौकमा सहज हस्पिटल एण्ड अर्थो सेन्टर सञ्चालनमा आएको छ । सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले एक विशेष समारोहबीच हस्पिटलको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर डा. यादवले अस्पताललाई गुलाफको फूलझैँ सजाउनुपर्ने आवश्यकता औंल्याउँदै सिरहामा गुणस्तरीय, सस्तो र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित हस्पिटल स्थापना हुनु सकारात्मक पक्ष भएको बताए । उनले सिरहाबासीले अब स्वास्थ्य उपचारका लागि बाहिर धाउनु नपर्ने विश्वास व्यक्त गरे ।



उपचार गराउन बाहिर आएको छु, चिनेको डाक्टर छ भने भन्नुभन्ने अवस्था अब अन्त्य हुनुपर्ने बताउँदै उनले भने, सहज हस्पिटलले अब आफ्नै जिल्लामा भरपर्दो सेवा दिनेछ । भरोसा गर्नुहोस्, यतै राम्रो उपचार हुन्छ । उनले हस्पिटलमा अलग सूचना तथा स्वास्थ्य परामर्श कक्षको व्यवस्था राख्न पनि अनुरोध गरे ।

मेयर यादवले हस्पिटल सञ्चालन, व्यवस्थापन र आइपर्ने समस्यामा सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । आर्थिक रूपमा पछाडि परेका वर्गसँग निश्चित सर्तसहित सम्झौता गरेर स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, विपन्न तथा असहाय वर्गको उपचार सहज बनाउन सहकार्य गर्छु ।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले हस्पिटल सञ्चालनले जिल्लाबाट बाहिर जाने उपचार खर्चमा करोडौं रुपैयाँ बचत हुने दाबी गरे । उनका अनुसार विराटनगर, धरान र जनकपुरमा पाइने सेवा अब सहज हस्पिटलले सिरहामै उपलब्ध गराउनेछ ।
एक जना बिरामी बाहिर रेफर हुँदा एक लाखभन्दा बढी खर्च हुन्छ । त्यससँगै समय र मानसिक तनाव पनि थपिन्छ, उनले भने, सहज हस्पिटलले रेफर दर घटाएर बार्षिक करोडौं रुपैयाँ बचत गराउनेछ ।
हस्पिटलका सञ्चालक रामकिशोर यादवले स्वास्थ्य समस्या कसैलाई पनि अचानक आइपर्न सक्ने भन्दै पहिलो प्राथमिकताको साथ सेवा लिन आग्रह गरे । उनका अनुसार हस्पिटलले अर्थो, इएनटी, गायनी, जनरल मेडिसिन लगायतका सेवा उपलब्ध गराउने छ ।
सहज हस्पिटलका सञ्चालक रामकिशोर यादवको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पतंजलि योग समितिका रामदेव ठाकुर लगायतले स्वास्थ्य सेवा प्रवाहमा सुधार आवश्यक रहेको सुझाव राखेका थिए । उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीहरूलाई डा. पिंकी यादवले स्वागत गरेकी थिइन् ।