माडरमा सशस्त्र प्रहरीद्वारा बाटो अवरुद्ध, स्थानीय आक्रोशित

सिरहा । सिरहा नगरपालिका–१७ माडर भन्सार नजिक सशस्त्र प्रहरीले दोहोरो अवरोध (ढाठ) राखेर स्थानीयको आवतजावत रोक लगाएको भन्दै तीन वटै गाउँका बासिन्दा आक्रोशित भएका छन् ।

भन्सार गेटभन्दा केही अगाडि काँडेतारसहित अर्को अवरोध राखेर पैदल यात्रुहरूलाई समेत रोकिँदा लचका टोल, इनर्वा टोल र पटेर्वा टोलका करिब ३ सय घरपरिवार दैनिक हैरानीमा परेका छन् ।

बिज्ञापन

उक्त भन्सार कार्यालय नेपाल–भारत सीमाबाट झण्डै २ किलोमिटर भित्र पर्छ । स्थानीयहरू यही बाटो भएर विद्यालय, अस्पताल, बजार तथा धार्मिक स्थल आउजाउ गर्ने गर्छन् । तर, सशस्त्र प्रहरीले राति १० बजेदेखि बिहान ७:३० बजेसम्म मुख्य सडक एनएच २० नै बन्द गरिदिँदा उनीहरूलाई बिहानको व्यायामदेखि आकस्मिक सेवासम्म पुग्न अप्ठ्यारो भइरहेको छ ।

जन्माष्टमीको अवसरमा लचका टोलस्थित कृष्ण मन्दिर जान आएका श्रद्धालुलाई समेत रोकेको स्थानीयहरू बताउँछन् । महिलाहरू खेत र झाडी हुँदै जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य भएको गुनासो छ । उनीहरूले यसलाई आफ्नो मौलिक हकमा अतिक्रमण भएको बताएका छन् ।

नेपालको संविधानको धारा १७ ले हिँडडुल गर्ने स्वतन्त्रता मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ भने धारा २६ मा धार्मिक स्वतन्त्रतामा रोक लगाउन नपाइने स्पष्ट व्यवस्था छ । तर स्थानीयहरूका अनुसार कुनै आधिकारिक सूचना नदिई अचानक सशस्त्र प्रहरीले बाटो बन्द गरेको हो ।

कानुनअनुसार सार्वजनिक बाटो बन्द गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग मात्र हुन्छ र त्यसका लागि आधिकारिक आदेश र सूचना आवश्यक हुन्छ । तर यहाँ सशस्त्र प्रहरीले नै एकतर्फी रूपमा ढाठ राखेर नागरिकको स्वतन्त्र आवागमनमा रोक लगाएको स्थानीयको आरोप छ ।

सीमा सुरक्षा सशस्त्र प्रहरी बल नेपाल नम्बर–७ गण, सिरहाका प्रमुख एसपी नरेश भण्डारीले भने, हामीले माथिबाट आएको आदेशअनुसार मात्रै ढाठ राखेका हौं, भन्दै जवाफ दिए ।

सशस्त्र प्रहरी ऐन, २०५८ ले सीमा सुरक्षा, तस्करी नियन्त्रण र सरकारी निकायको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको भए पनि स्थानीयले नागरिकको मौलिक हक कुण्ठित गरिएको गुनासो गरिरहेका छन् ।