कमला नगरपालिकाका लागि नगर प्रहरीलाई ३० दिने तालिम सुरु

जनकपुरधाम । कमला नगरपालिकाले झण्डै ७ बर्षपछि नगर प्रहरी ल्याएको छ । नगरपालिका भएपनि नगर प्रहरी नहुँदा समाजिक कार्यहरुमा अवरोध हुन थालेपछि नगरपालिकाले आफ्नो नगर प्रहरी भर्ना गरेको छ ।

सोही क्रममा नगर प्रहरीलाई लक्षित गरी ३० दिने तालिम आजदेखि सुरु भएको छ । तालिम सशस्त्र प्रहरी बल नं. ८ गण हेडक्वाटर, धनुषामा सञ्चालन गरिएको हो ।

बिज्ञापन

उद्घाटन कार्यक्रममा कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादव प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगर प्रशासन प्रमुख बीरेन्द्रकुमार सढान विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुभयो । तालिमको उद्घाटन समारोहको अध्यक्षता भने सशस्त्र प्रहरी बल धनुषाका एसपी निर्मल खड्काले गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले नगर प्रहरीलाई व्यावसायिक, अनुशासित र जिम्मेवार बनाउने उद्देश्यले तालिम सुरु गरिएको बताउनुभयो । उहाँले नगरपालिकामा सुरक्षाको प्रत्याभूति दिलाउन नगर प्रहरीको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरीका प्रशिक्षकहरूको व्यवस्थापनमा सञ्चालन हुने यो तालिममा सहभागी नगर प्रहरीलाई अनुशासन, तालिम, कानून पालन, जनसेवा, अपराध नियन्त्रण लगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिनेछ । उक्त तालिम ३० दिनसम्म सञ्चालन हुनेछ ।