

जनकपुरधाम । पछिल्लो समय मधेश प्रदेशमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि भएको प्रहरी तथ्यांकले देखाएको छ । जसमा महिलाको दर उच्च देखिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशका आठ जिल्लामा १,२५३ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ४७५ महिला र ४६७ पुरुष रहेका छन् । बालबालिकामाझ ६५ बालक र २४६ बालिकाले आत्महत्या गरेका छन् । यसरी हेर्दा गत वर्ष महिलासहित ७२१ जनाले आत्महत्या गरेका छन् भने पुरुष र बालक मिलाएर ५३२ जना छन् । यसले महिलाको आत्महत्याको संख्या करिब डेढ गुणा बढी भएको प्रष्ट देखाउँछ ।




यसअघि आर्थिक वर्ष २०८०/८१ मा भने कुल १,२७८ जनाले आत्महत्या गरेका थिए । त्यतिबेला पुरुष ५४०, महिला ४७०, बालक ६७ र बालिका २०१ थिए । त्यो अवधिमा पनि महिलाको तुलनामा पुरुष बढी थिए तर पछिल्लो वर्ष उल्टो ट्रेन्ड देखिएको प्रहरीको तथ्यांकले देखाउँछ । प्रहरी अनुसन्धानअनुसार विभिन्न् कारणले आत्महत्या बढी रहेको छ । विशेषगरी बालिका र किशोरीमध्ये आत्महत्याको दर उच्च छ । परीक्षामा असफलता, प्रेममा असफलता, घरायसी झगडा, हनी ट्र्यापमा परिने अवस्था, मोबाइल प्रयोगमा रोक, मोबाइल गेम नखेल्न दिँदा आएको आक्रोश, आर्थिक संकट र मानसिक तनावले धेरैलाई आत्महत्यातर्फ धकेलेको प्रहरीले जानकारी दिएको छ ।

महिलाको आत्महत्याका प्रमुख कारणमा घरेलु हिंसा, दाइजो कम ल्याएको निहुँमा गरिएको कुटपिट, पतिले परस्त्रीसँग सम्बन्ध राखेको थाहा पाउनु, पति रोजगारीका लागि बाहिर हुँदा श्रीमतीले अन्य सम्बन्ध गाँसिएको विषयमा विवाद हुने जस्ता कारण रहेको मधेश प्रहरीले जनाएको छ ।
मनोचिकित्सक डा. रबिन झाका अनुसार आत्महत्या नियन्त्रणका लागि तत्काल, मध्यम र दीर्घकालीन रणनीति आवश्यक छ । “संकटमा परेकालाई तुरुन्त सहयोग पुर्याउने २४ घण्टा सञ्चालन हुने हेल्पलाइन र आकस्मिक मनोपरामर्श केन्द्र स्थापना हुनुपर्छ,” उनले भने। स्वास्थ्य संस्था र समुदायस्तरमै प्रशिक्षित परामर्शदाता उपलब्ध गराउनुपर्ने उनको सुझाव छ ।
त्यस्तै, अधिवक्ता रेखा झाका अनुसार बेरोजगारी र आर्थिक संकट कम गर्न सीपमूलक तालिम र रोजगारी कार्यक्रम सञ्चालन गर्नुपर्छ । साथै घरेलु हिंसा, लैंगिक हिंसामा परेकालाई कानुनी तथा आर्थिक सहयोग पुर्याउन सके आत्महत्या घटाउन मद्दत पुग्छ ।
प्रहरीले मधेशमा धेरैले विष सेवन, झुण्डिएर वा अन्य तरिकाले आत्महत्याको बाटो रोज्ने गरेको तथ्य प्रस्तुत गरेको छ । यसले परिवारमा ठूलो बिचल्ली ल्याउने भएकाले आत्महत्या निरुत्साहित गर्न सचेतना अभियान अनिवार्य रहेको प्रहरीको भनाइ छ । यसका लागि राज्यसँगै समाज, समुदाय र सामाजिक संस्थाको भूमिकालाई अत्यन्तै महत्वपूर्ण मानिएको छ ।