

बर्दिबास । मधेश प्रदेश स्तरीय किशोर–किशोरी भेला २०८२ बिहीबार बर्दिबासस्थित रेड क्राउन होटलमा सम्पन्न भएको छ । भेला राष्ट्रिय किशोर सञ्जाल र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको हो । कार्यक्रमको संयोजन सिविन नेपाल र (Girls Not Brides) संस्थाले गरेका थिए भने सेभ द चिल्ड्रेन ले सहयोग प्रदान गरेको थियो ।
कार्यक्रम राष्ट्रिय किशोरी सञ्जालकी महासचिव कृतिका धितालको अध्यक्षता र मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधान, (NIRN Nepal) का अध्यक्ष भिक्षु पियादशी, (Girls Not Brides Nepal) की अध्यक्ष निरजिना भट्ट, राष्ट्रिय किशोर सञ्जालका केन्द्रीय सदस्य राजन दासलगायतका सरोकारवालाहरूको उपस्थिति थियो ।




मन्त्री जयसवालले आफ्नो मन्तव्यमा मधेश प्रदेशमा विद्यमान असमानता, विकृति, जातीय विभेद, बालविवाह तथा छिट्टै हुने विवाह जस्ता समस्या समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँगै नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । उनले मधेश प्रदेशले पहिलोपटक बालिका संरक्षण ऐन, नीति तथा बालिका कोष सञ्चालन गरी बालिका सशक्तिकरणलाई प्राथमिकता दिएको जानकारी दिए । साथै, यस वर्षको बजेटमा पर्याप्त स्रोत विनियोजन गरिएको र दहेज प्रथा, बालविवाह तथा छिट्टै हुने विवाह न्यूनीकरणका लागि सामूहिक विवाह कार्यक्रमसमेत नीतिगत रूपमा समावेश गरिएको उनले बताए ।

दुई दिनसम्म चलेको भेलामा साइबर सुरक्षाबारे चेतना, यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह र बालश्रम अन्त्यका उपायबारे छलफल भएको थियो । साथै, मधेश प्रदेशका आठ जिल्लाका समस्या–चुनौतीहरूको प्रदर्शन गरिएको थियो ।
भेलामा सहभागी किशोर–किशोरीहरूले तयार पारेको १२ बुँदे अपिल पत्र मन्त्री जयसवाललाई हस्तान्तरण गरेका थिए । मधेश प्रदेशको आठ जिल्लाका ५० जना किशोर–किशोरीको सहभागिता रहेको थियो ।