विवाह पञ्चमी महोत्सव : आज पहिलो दिन राम र लक्ष्मणलाई गराइयो नगरदर्शन

जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन गराइएको छ ।

नगरदर्शनमा राम र लक्ष्मणका प्रतिक बनाइएका बालबालिकालाई घुमाउने गरिन्छ । जानकी मन्दिर प्रांगणमा सांस्कृतिक कार्यक्रम आयोजन गरी राम र लक्ष्मणलाई नगरदर्शन गराइएको हो । नगरदर्शन अवलोकन गर्न श्रद्धालुहरूको भीड लागेको थियो ।

बिज्ञापन

विवाहपञ्चमीको दोस्रो दिन भोलि फूलबारी लिला रहेको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

तेस्रो दिन शनिबार धनुष यज्ञ, चौथो दिन आइतबार तीलकोत्सव पाँचौ दिन मंसिर ८ गते सोमबार मटकोर र ९ गते मंगलबार रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन ममंसिर १० गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ ।