
जनकपुरधाम । बाराको पथलैयामा पराल, भुसलगायत कृषिजन्य प्रयोजनका कच्चा पदार्थ बोकेका ट्रक र ट्र्याक्टरलाई ट्राफिक प्रहरीले रोक लगाएको विरोधमा किसान, व्यवसायी र चालक आन्दोलित बनेका छन् । राजमार्गमै सयौं सवारी साधन रोकिएपछि उनीहरूले बुधबार पथलैयास्थित ट्राफिकको प्रदेश स्तरीय कार्यालय अगाडि धर्ना दिएका हुन् ।
‘ओभरलोड’ (ढाला भन्दा माथि बोकेको) को कारण देखाउँदै हलुका कृषिजन्य प्रयोजनको सामग्री ढुवानीमा ट्राफिक प्रहरीले अवरोध सिर्जना गरेको किसान तथा व्यवसायीहरूको आरोप छ । च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले पराल, भुसजस्ता कच्चा पदार्थ कृषि उत्पादनका लागि आवश्यक हुने भए पनि ट्राफिकले अनावश्यक दुःख दिएपछि आन्दोलन गर्नुपरेको बताए ।




धर्नामा सहभागी चालक र किसानका अनुसार पछिल्ला केही दिनयता पथलैयामा एक सयभन्दा बढी ट्रक तथा ट्र्याक्टर राजमार्गमै अलपत्र परेका छन् । चालक सूर्य श्रेष्ठले ट्राफिक प्रहरीबाट हुने मनपरी गतिविधिका कारण पैसा नबुझाई सवारी चलाउन पाइने अवस्था नरहेको आरोप लगाए ।

ट्राफिक प्रहरी एसपी राजकुमार सिलवालले भने आफूहरूले कानुनअनुसार मात्र कारबाही गरिरहेको दाबी गरेका छन् । ‘तोकिएको मापदण्ड भन्दा बढी बोकेका सवारी साधनलाई रोकेका हौं’ उनले भने ‘अलग मापदण्ड छ भने प्रमाणसहित ल्याउनुपर्छ, त्यसअनुसार छाडिन्छ ।’ उनका अनुसार अत्यधिक अग्लो भार बोकिएको गुनासो बढेपछि कडाइ गरिएको हो ।
एसपी सिलवालले ट्राफिक प्रहरीले चालकसँग अवैध रुपमा पैसा लिने गरेको भन्ने आरोपलाई प्रमाणसहित पुष्टि गर्न चुनौती पनि दिए ।
कृषि तथा पशुपालनमा प्रयोग हुने कच्चा पदार्थ बाटोमै रोकिँदा किसान मारमा परेका छन् । व्यवसायी तथा किसानहरूले दीर्घकालीन समाधानका लागि सरकारसँग स्पष्ट र व्यवहारिक मापदण्ड बनाउन माग गरेका छन् ।
