
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी बरिष्ठ नायव निरीक्षक सागर शम्सेर जबरालाई २०८२ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषित गरेको छ ।
अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको दरबन्दी भई प्रहरी चौकी जनकपुरधाममा कार्यरत वरिष्ठ सई जबराले गम्भीर प्रकृतिका अपराध अनुसन्धान तथा अभियुक्त पक्राउमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




मिति २०८२/०७/२८ गते मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न १२ जनामध्ये चार जनालाई पक्राउ गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका–११ मा घटेको जबर्जस्ती करणीसम्बन्धी घटनामा संलग्न अभियुक्तहरूलाई विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएका थिए ।

यसका साथै, जनकपुरधाम–१० स्थित एक होटलमा घटेको नाबालिकासम्बन्धी गम्भीर अपराधमा संलग्न फरार प्रतिवादीहरूलाई पनि उनले सक्रिय अनुसन्धानमार्फत पक्राउ गर्न सहयोग पुर्याएका छन् । २०८२ सालको राम–सीता विवाह पञ्चमी मेलाको अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिई शान्ति–सुरक्षा कायम गर्नसमेत उनले अहम भूमिका निर्वाह गरेका थिए ।
आफूलाई दिइएको जिम्मेवारी उच्च व्यवसायिकता, इमान्दारिता र कुशलताका साथ निर्वाह गरी प्रहरी संगठनको छवि उकास्न उल्लेखनीय योगदान पुर्याएको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई (Police of the Month) घोषित गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुगम बहादुर कुँवरले उत्कृष्ट कार्यले आम नागरिकमा प्रहरीप्रतिको विश्वास र सकारात्मक सोच अभिवृद्धि भएको बताए ।
