
काठमाडौं । डा.शरदसिंह यादवको नेतृत्वमा हालै गठन भएको जन अधिकार पार्टीप्रति जेनजी युवाको आकर्षण बढ्दै गएको छ ।
जन अधिकार पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एक सय ५० भन्दाबढी जेनजी युवाहरुले पार्टी प्रवेश गरेका हुन् ।




जन अधिकारका अध्यक्ष डा.यादव, नेता संजय यादवलगायतले नवप्रवेशी जेनजी युवाहरुलाई टीका लगाई पार्टी प्रवेश गराएका थिए ।

जेनजी युवाहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष डा.यादवले जेनजीहरुको वास्तविक पार्टी जन अधिकार नै रहेको दाबी गर्दै भने, हाम्रो पार्टीमा युवाहरुलाई झोले नभई नेतृत्व पंक्तिमा सम्मानजनक उपस्थिति गराउँछौं ।
उनले जन अधिकार पार्टीमा कुनै व्यक्ति विशेषलाई देवत्वकरण नगर्ने बताउँदै युवाको ५० प्रतिशत सहभागिता गराउने जानकारी दिए । जेनजी युवाहरुको उत्साहजनक सहभागिताले जनताको अधिकार स्थापित गराउन संघर्षरत रहने उनले बताए ।
पार्टी प्रवेश गर्दै जेनजी युवाहरुले आफूहरु कुनै पार्टीको झोले नभई जनताको अधिकारका लागि लड्ने प्रतिबद्धता जनाएका थिए । जेनजीहरुले एक श्वरमा भने, हामीले धेरै पार्टीहरुलाई हेर्यौं, अब जन अधिकार पार्टीलाई एक पटक विश्वास गरौं । यसले नै अधिकार स्थापित गराउँछ । पार्टी प्रवेश कार्यक्रम पश्चात् जन अधिकार निकट युवा संघसमेत घोषणा गरिएको थियो ।
