२१२ जना सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जयकुमार सदा

जनकपुरधाम । मधेशका जिल्लाहरुमा बसोबास गर्ने मुसहर समुदाय अहिले पनि धेरै पिछडिएको सूचीमा छन् । छाँक टार्न समेत समस्या हुने यी समुदायमा पछिल्लो समय केही सकारात्मक परिवर्तन आएपनि आर्थिक, सामाजिक क्षेत्रमा अअहिले पनि पिछडिएकै अवस्थामा छन् । ज्याला मजदूरी गरेर दिन बिताउने यी समुदायका बालबालिका तथा युवाहरु शिक्षाबाट अझैं बंचित छन् ।

तर लगनशिल भएर मिहिनेत गरे लक्ष्य प्राप्ति गर्न सकिने उदाहरणलाई सार्थक बनाएका छन् यहीं समुदायका एक युवा । ती युवा प्रहरीको जागिर मात्रै पाएका छैनन्, २१३ जनामा प्रथम स्थान समेत हासिल गरेका छन् ।

बिज्ञापन

सरकारी जागिर पाउन फलामको च्यूरा चपाए झैं हुने मुसहर समुदायका जयकुमार सदा प्रहरी तालिम केन्द्र राजविराजमा भएको (५–०५) औं समूहको प्रहरी जवान तालिममा सहभागी भएका थिए । उनीसँगै तालिममा २१३ जना सहभागी थिए । तर सबैलाई उछिनेर उनी तालिमकै सर्वप्रथम हुन सफल भएका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर ६ महादेवपट्टी घर भएका सदा कुल ७०० पूर्णाङकमा ५८२ दशमलव ३४ अंक प्राप्त गरी प्रथम भएको तालिमका संयोजक प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए । प्रतिशतको आधारमा हेर्ने हो भने उनले ८३ दशमलव १९ प्रतिशत अंक प्राप्त गरेका छन् ।

२०५८ साल पुस ५ गते माता पुनिता देवी र पिता नरेश कुमार सदाको कोखबाट जन्मिएका जय कुमार जसोतसो एसईईसम्मको अध्ययन गर्न पाए ।

आर्थिक रुपमा कमजोर परिवारमा जन्मिएका जयकुमारले हिम्मत भने कहिले हारेनन् । प्रहरी बन्ने लक्ष्यसहित उनी मिहिनेत गरिरहे । अन्ततः उनले सफलता पनि प्राप्त गरेका छन् ।

‘प्रहरी बन्ने लक्ष्य राखेको थिएँ, जुन पूरा भएको छ’ हँसिलो मुहारमा उनले भने, ‘असाध्यै खुशी लागेको छ ।’

प्रहरीमा आवेदन दिएपछि सबै किसिमको छनौट प्रकृयामा उनी सफल हुँदै गए । ‘कडा रुपमा मिहिनेत गर्‍यौं र सरहरुले पनि धेरै कुरा सिकाउनुभयो’ जयकुमार भन्छन्, ‘घरपरिवार सबैतिरको ध्यान छाडेर तालिममा राम्रो गर्नेबारे मात्रै सोंच्यौं ।’

११ पुसमा २१३ जनासँगै उनी पनि प्रहरी जवान पदमा दिक्षित भए । दिक्षान्त समारोहमा पनि उनी कवाजसहित बिभिन्न प्रदर्शनीको अगुवाई गरे ।

दिक्षान्त समारोहमा आफ्‌नो छोरालाई बधाई दिन आएकी उनकी आमा पुनिता देवी खुशीले गदगद देखिइन् । ‘धेरै दुःख गरेर छोराको लालनपालन गर्दै एसईईसम्म पढाएकी छु’ उनले भनिन्, ‘एक दिन सुख आउँछ भन्ने विश्वास थियो । अब सुखको अनुभूति गर्छु ।’

तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जय शुरुदेखि नै लगनशिल भएर तालिममा मिहिनेत गर्दै आएकाले सफलता प्राप्त गरेको बताए ।