
अनिलकुमार कर्ण
बर्दिवास, १६ पुस । जङ्गलबाट गाउँ पसेका झुन्डका झुन्ड बाँदरहरूले खेतबारीमा दिनका दिन उपद्रो मच्चाउन थालेपछि धनुषाको क्षिरेश्वर नगरपालिकास्थित इच्छापुरका किसानहरूले हुल बाँधेरै जिल्ला सदरमुकाम जनकपुरधाममा वन्य संरक्षण अधिकारीलाई भेटेर भने, ‘बन्दुक पड्काउनुस्, बाँदर फर्काउनुस् ।’ बिहानबेलुका मात्र होइन, आधा रातमा समेत बालीनाली चर्ने र नष्ट गरिदिने बाँदरहरूले आफूहरूलाई बिल्लीबाँठ पारेको गुनासो किसानले गरिरहँदा डिभिजन वन कार्यालय धनषाका तत्कालीन डिभिजन वन अधिकृत बेचन चौधरीले भने, ‘प्राकृतिक न्यायचाहिँ साँच्चिकै हुँदोरैछ ।’ उनले अथ्र्याए, ‘बाँदरहरूका घरबस्ती मान्छेले अतिक्रमण गरेपछि बाँदरले कब्जा गर्ने तिनकै खेतबारी र आलीगोठ न हो ।’
केही दशकअघिसम्म सहरबजार र गाउँटोलमा लाग्ने मेलाहाटमा ‘बाँदरनाँच’ बच्चादेखि वृद्धसम्मको आकर्षण थियो । मदारीको इसारामा बाँदरले बदल्ने चालढाल देख्न अघिल्लो पंक्तिमा पुग्न ठेलठाल गरेर भिड छिचोल्नेहरू बाक्लै थिए । तर, त्यो समयमा बाँदरको ‘उफ्रयाइँ’ रमाइलो मानेर घन्टौँ हेर्ने तिनै मानिसका लागि अहिले बाँदरको कुदफानले छाक टार्नसम्म नदिने दुःखको अनुभव गराएको छ । बाँदर इच्छापुरमा मात्र होइन, मधेश प्रदेशका आबादी कम र खेतबारी बढी भएका प्रायःजसो सबै ठाउँमा सयौँको सँख्यामा आउने गरेका छन् । केही वर्षयता ती बाँदरहरूको समूह पातलिँदै गएको चुरे जङ्गल छिचोलेर भावर हुँदै तराईनजिकका गाउँ पुग्नेगर्छ । बाटामा पर्ने गाउँहरूमा खेतबारीमा लगाइएका मात्र होइन, ढिकुरसम्म नै पुगेर बाँदरहरूले बाली खाइदिने र छरिवरि गरिदिने गर्छ ।
बाँदरको यस्तो बानीव्यवहारलाई ‘आतङ्क’ भन्न रुचाउने गाउँलेहरूले लट्ठी घुमाउने, भाँडाकुँडा ठटाउने, लसुन, प्याज, नुनको पानी, मरिचको धुलो खेतमा छर्कने, खेतबारीमा काँडा भएका बोटबिरुवा लगाउनेदेखि काँडेतारसम्मको घेराबेरा लगाउने काम गर्दैआएका छन् । तर, बाँदरले खेत चर्ने कुनै न कुनै उपाय खोजेरै बाँदरले बालीनालीमा क्षति पुर्याउन नछाडेपछि स्थानीय किसानहरू बाँदर धपाउन पारि भारतबाट गुणीहरू बोलाउन थालेका छन् । भारतीय इलमीहरूले बाँदरलाई विशेष सीप र तरिकाबाट बाँदर पक्रेर जङ्गलमा लगेर छाड्ने गरेका छन् । तर, यो उपाय महँगो छ ।
त्यस्तै चुरेभन्दा दक्षिणका गाउँहरूमा बाँदरमात्र होइन, धेरै सँख्यामा नीलगाई र कहिलेकाहिँ बदेलले पनि बालीनालीमा क्षति पुर्याउनेगर्छ । पछिल्लो समय नीलगाई नदेखिने खेतबहुल गाउँ कमैमात्र छन् । बीचबीचमा मधेशका गाउँमा हात्ती र बाघसम्म बस्तीमा देखिने गर्छ । यी जनावरबाट धनजनको क्षति पनि हुन्छ । चुरेमुन्तिर रौतहटको चन्द्रनिगाहपुरका महिनौसम्म देखिएको एउटा बाघको डरले धेरै दिनसम्म त्यहाँका बासिन्दा भयत्रासमा बाँच्न बाध्य भए ।
वन अधिकारी चौधरीले भनेझैँ वन्यजन्तुको बासस्थान अर्थात् चुरे जङ्गलमा पहाडबाट बसाइसराइ गरेर आएकाहरूले रूखबिरुवा फँडानी गरी बस्ती विकास र खेतीपाती गर्न थालेपछि थातथलो र आहारा विहीन बनेका वन्यजन्तुहरू खानकै लागि दक्षिणी फाँटमा झर्न थालेका छन् । बस्ती तथा खेत विकाससँगै वनजङ्गल साँघुरिँदा र वनमा पाइने फलफुल तथा जडीबुटीमा मानवीय हस्तक्षेप बढ्दा भोक मेट्न नपाएका जङ्गली जनावर समथर भूभागसम्म पुग्नेगर्छ ।
कुनै बेला सर्लाहीका जिल्ला वन अधिकृत रहेका शेखर यादवका अनुसार पेटपालो गर्न जसरी माग्नेहरूका लागि मन्दिर सजिलो ठाउँ बनेको छ, त्यसरी नै वन्यजन्तुका लागि मैदानी भाग भोकतिर्खा मेटाउने स्थान बनिरहेको छ । उनकै शब्दमा मान्छेले चुरे जङ्गलको ऐँसेलु र हर्रोबर्रो खानबेच्न थालेपछि वनजन्तुले तिनका खेतमा उब्जने धानगहुँ, मकै र तरकारी खान थालेका छन् ।
चुरे जङ्गलमा वन्यजन्तुको प्राकृतिक आहार रहेका एँसेलु, काफल, अमरुद, बेल, कटहर, जामुन, लप्सी, कुकर फुल, भोगटे, सुन्तलाजस्ता फलफुल र हर्रो, बर्रो, गुर्जो, घोटाझार, बोझो, पुदिना, तुलसी, सर्पगन्धा र अश्वगन्धाजस्ता जडीबुटी बस्ती विकासले संरक्षणविहीन हुँदै गएको छ । भएका ती वनस्पतिमा पनि वन्यजन्तुको परम्परागत अधिकार खोसिएको छ । मानिसले ती उत्पादनलाई बजारसम्म पुर्याएर वन्यजन्तुको मुखबाट लुँछेका छन् ।
वनविज्ञ राकेशकुमार कर्णका अनुसार बस्ती विकाससँगै वनजङ्गलको रैथाने प्रकृतिमा बदलाव आएको छ । आयातीत प्रजातिका झार र वनस्पतिका कारण रैथाने उत्पादन कम हुँदा खानाको खोजीमा वन्जन्तु जङ्गलबाहिर आउने गरेको उनको भनाइ छ ।
चुरे क्षेत्रको जङ्गल नासिँदा त्यहाँको जैविक विविधता सङकटापन्न अवस्थामा छ । फँडानीले जङ्गलको माटो बिग्रँदा जलस्रोतमा दबाब बढेको छ । वन्यजन्तुको बासस्थान नष्ट भएको छ । दुर्लभ जडीबुटी र वनस्पतिहरू पुनः उत्पादन नहुनेगरी लोप भएका छन् । खाद्य शृंखला नै विघटन हुँदा वन्यजन्तुको धेरैवटा प्रजाति विलुप्त भएका छन् । भएका वन्यजन्तुहरू बसाइ सरिरहेको छ । यसले मानव–वन्यजन्तु द्वन्द्वको आधार खडा गरेको छ । वनविज्ञ यादव भन्छन्, ‘वनक्षेत्रको जैविक विविधता पुनसर््थापित गर्ने ठोस प्रयास नहुने भने मानिसजति अहिलेको जङ्गलमा र वन्यजन्तुजति अहिलेको मानव बस्तीमा पुग्नेछन् । मानिसलाई बस्तीमा र वन्जन्तुलाई जङ्गल बस्नुपर्ने प्राकृतिक नियम हो । यो नियम तोडिँदा प्रकृति खजमजिएको बढी भुक्तान मानवजातिलाई गर्नुपर्छ ।’




