अप्पन जनकपुर
जनकपुरधाम, २६ असोज । जनता समाजवादी पार्टीबाट बगावत गरेर स्वतन्त्र प्रदेशसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवारी दिएका नेता रामआशिष रोहिता यादवले रिक्सा छाप चुनाव चिन्ह पाएका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालय धनुषाले नेता रोहितालाई रिक्सा छाप चुनाव चिन्ह दिएको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा जसपाको तर्फबाट प्रदेशसभा सदस्यको आकांक्षी रहेका रोहितालाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
टिकट बाँडफाँड हुँदा धनुषा २ (ख) जसपाको कोटामा यादव परेको थियो । जसपाले त्यस क्षेत्रबाट रामआशिष यादवलाई उम्मेदवार बनाएको छ ।
टिकट नपाएर पार्टीसँग रुष्ट भएका रोहिताले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । नेता वर्गमा राम्रो पकड भएका रोहिता यस क्षेत्रबाट उठेका अन्य उम्मेदवारमाथि भारी पर्ने सम्भावना देखिएको छ ।