2024-04-18

Close


वीरगन्ज साउन २६ गते – बाराको परवानीपुर गाउँपालिका वडा नं ५ नौतनमा नवनिर्मित रामजानकी धर्मशाला उद्घाटनमा विवाद हुँदा सो वडाका वडा अध्यक्ष रामेश्वर कलवारलाई थुनेर धर्मशालाको उद्घाटन गरिएको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गरेको कार्यक्रममा बल प्रयोग गरी सुरक्षाकर्मीद्वारा वडा अध्यक्ष कलवारलाई करिब ६ घण्टा थुनेर कार्यक्रम सम्पन्न भएको हो ।

 

धर्मशाला उद्घाटनको विषयमा गाउँपालिकाका अध्यक्ष हरिनारायण साह र वडा अध्यक्ष कलवारबीच शिलालेखमा लेखिने नामको विषयमा विवाद चल्दै आएको थियो । वडा अध्यक्षले गाउँपालिकाको बजेटबाट बनेको धर्मशालामा मन्त्री सोनलको नामसँगै आफनो नाम पनि उल्लेख गर्न माग गरेका थिए । तर गाउँपालिकाका अध्यक्ष साहले सबै शर्त मान्दा पनि उनले निर्धारित कार्यक्रम बिथोल्न खोजेपछि विवाद भएको गाउँपालिका अध्यक्ष साहको भनाइ छ ।

 

वडा अध्यक्ष कलवार भने आफूलाई बेवास्ता गरी गाउँपालिकाका अध्यक्षले कार्यक्रम गरेको र आफूहरूसँग कुनै समन्वय नगरेकाले कालो झण्डा प्रदर्शन गर्न लाग्दा प्रहरीद्वारा लाठीचार्ज गराई आफूलाई नियन्त्रणमा लिइएको बताए । ‘कार्यक्रम र कहाँ के लेखिनेबारेमा मसँग कुनै सल्लाह भएको छैन, हामीले लोकतन्त्रमा विरोध पनि गर्न नपाइने भयो,’ वडा अध्यक्ष कलवारले भने, ‘यस्तै चलिरहयो भने गाउँपालिका अब तहसनहस हुन्छ ।’

 

‘जुन वडामा कार्यक्रम छ, त्यसै वडाका मालिकलाई थुनेर कहीँ कार्यक्रम हुन्छ ?,’ उनले प्रहरीको नियन्त्रणबाट छुटेपछि कुराकानी गर्दै भने । प्रहरीले वडा अध्यक्ष कलवारसहित जयप्रकाश गुप्ता, हरिशंकर साह, विवेक कुमार, प्रविन साहलाई साँझ ६ बजे कार्यक्रमपश्चात छोडिएको छ ।

#केन्द्र सरकारसँग धेरै कुरामा छिनोफानो हुन बाँकी छ : सोनल

धर्मशाला उद्घाटन गर्दै प्रमुख अतिथि तथा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री सोनलले संघीयता पश्चात केन्द्र सरकारसँग धेरै कुरामा छिनोफानो हुन बाँकी रहेको बताएका छन् । उनले केन्द्र सरकारमा वित्तीय आयोग बन्न नसक्नु, राजस्व तथा स्रोत साधनको समान बाँडफाँट हुन नसक्नु, प्रदेशको विपद व्यवस्थापनमा सरकारले स्पेशल प्याकेज दिन नसक्नु दुःखको कुरा भएको बताए। उनले आफूले पाएको हकअधिकारको कामलाई पनि सही दिशामा अघि बढाउन नसक्दा मधेशको विकास नहुने धारणा राखे ।

 

‘संघीयतापछि मधेशमा राम्रो सडक, धर्मशाला, विद्यालय, सबै कुरा राम्रो बन्नुपर्छ, यसका लागि स्थानीय र प्रदेश सरकारलाई पनि अब बजेट पाउन थालेको छ,’ उनले भने, ‘आफ्नो विकास आफैँ गरेनौँ भने अर्कालाई दोष लगाएर केही हुँदैन, त्यसैले सानो कुराका लागि जनप्रतिनिधबीच विवाद राम्रो कुरा होइन ।’ बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य एकबाल मियाले वडा अध्यक्ष र गाउँपालिका अध्यक्षबीच सिर्जना भएको विवादलाई साम्य बनाएर लैजानुपर्ने सुझाव दिए ।

 

राजपाका नेता तथा नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंहले ४० वर्षको सपना साकार भएको दिनमा यस्तो घटना हुँदा सम्पूर्ण गाउँवासी दुःखित भएको बताउँदै आगामी दिनमा धार्मिक कार्यक्रम तथा धर्म संस्कार गर्न धर्मशाला महत्वपूर्ण भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा प्रकट गरेका थिए । कार्यक्रममा जिल्ला समन्य समिति बाराका सभापति नवलकिशोर सिंह, राजपाका नेता कार्यकर्ताहरूको सहभागिता थियो । पछिल्लो दुई आर्थिक वर्षको करिब ६२ लाखको रुपैयाँको लागतमा मन्दिरको डेढ कठा बराबर क्षेत्रफलमा उक्त धर्मशाला बनेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds