प्रधानमन्त्रीलाई समाजवादी युवाको खबरदारी
७७ वटै जिल्लाबाट सिडिओ मार्फत ज्ञापन
रुपेश कुमार यादव
जनकपुरधाम, १ असोज । भ्रष्टाचार नियन्त्रणमा गम्भिर हुन संघीय समाजवादी पार्टी निकट समाजवादी युवा संघले बुधबार ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । धनुषामा समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापरको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापन पत्र बुझाइएको हो ।
‘बढ्दो भ्रष्टाचार, महँगी, बेथिति र विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले सरकारलाई तिर्नुपर्ने कर लगायतका राजश्व नतिरी उम्कन खोज्नुले नेपाल आर्थिक रुपमा विफल हुने समाजवादी युवा संघको ठहर छ’ संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको ज्ञापन पत्रमा लेखिएको छ, ‘पछिल्लो एनसेल प्रकरण पनि एक प्रकारले नेपाललाई आर्थिक रुपमा कर नतिरी कमजोर पार्ने प्रत्यक्ष उदाहरण रहेको छ । तसर्थ बढ्दै गरेको भ्रष्टाचार, महँगी, बेथिति र सुशासनका सवालमा सरकार गम्भिर हुनुपर्छ ।’
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई जनताले शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्थाको सिर्जना हुनु, देशको ऋण १० अर्ब नाघ्नु, व्यापार घाटा आकाशिनुजस्ता जस्ता समस्या मुख्य चिन्ताको विषय भएको संघले ज्ञापन पत्रमार्फत भनेको छ ।
कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टाचार गर्ने लगायतका कुतत्लाई समयमै निस्तेज पार्नेगरी कार्ययोजना ल्याउन समाजवादी युवा संघ गम्भिर रहेको र यसप्रति सरकारलाई पनि गम्भिर हुन देशैभरका सबै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।
This will close in 20 seconds