असोज ३ गते संविधान जलाएको आरोपमा मुद्दा खेपेका ११ जनाले पाए सफाई

जनकपुरधाम । नवौँ संविधान दिवसको दिन काठमाडौंको माईतीघर मण्डलामा संविधान जलाएको आरोपमा अभद्र व्यवहारको मुद्दा खेपेका सबै जनाले सफाई पाएका छन् ।

गत असोज ३ गते संविधान दिवसको दिन कालो दिवस मनाउँदै संविधानको प्रतिलिपि जलाएको आरोपमा ११ जना पक्राउ परेका थिए । उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो ।

बिज्ञापन

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले संविधान जलाएको आरोपमा मुद्दा लागेका राजु महतो, आकाश महतो, श्वेता झा, चुडामणि यादव , राहुल यादव, गौतम राज शर्मा, अर्जुन साह, चन्दन साह, शिव यादव, राम रत्न सिंह र शिव यादवलाई सफाई दिएको हो ।

असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएका युवकहरुले माइतीघरमा साङ्केतिक संविधान जलाएपछि उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको थियो । असोज ७ गते उनीहरुलाई ५–५ हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा गरिएको थियो । सो अघि राहुल यादव र आकाश महतो एक दिन हिरासतमा बसी बाहिर निस्केका थिए ।

असोज ७ गते महानगरिय प्रहरी वृत अनामनगरले राजु महतो, आकाश महतो, श्वेता झा, चुडामणि यादव , राहुल यादव, गौतम राज शर्मा, अर्जुन साह, चन्दन साह, शिव यादव, राम रत्न सिंह र शिव यादवमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दायर भएको मुद्दाको क्रममा आरोपितहरुमाथि संविधान जलाएको अभियोगमा माग दाबी पुगाउन नसकेपछि उनीहरुलाई सफाई दिएको हो ।

वि.सं. २०७२ सालमा जारी गरिएको नेपालको संविधानको केही बुँदामा असहमतिसहित संविधान जारी राख्दा मधेशी समुदायलाई छाती र टाउकोमा गोली हानेर जबरदस्ती संविधान जारी गरेको भन्दै सो दिनलाई मधेशी समुदायका युवकहरुले कालो दिनका रुपमा मनाउँदै आएका छन् ।