जनकपुरधाम । स्व. रघुनाथ ठाकुरले सुरू गरेको मधेश बिद्रोहको ब्याज मधेशी नेताहरूले खाई रहेपनि ठाकुरलाई सम्मान दिन नसकेको आरोप बीपी साहले लगाएका छन् ।
स्व.ठाकुरको ४४ औं स्मृती दिवसको अवसरमा जनकपुरधाममा आयोजित सडक अन्तरक्रियामा बोल्दै जनमत पार्टीका नेता समेत रहेका साहले अहिलेका मधेशी नेताहरुले मधेश आन्दोलनका सुत्रधारहरूलाई बिरसेको आरोपसमेत लगाए ।
‘ स्व.रघुनाथ ठाकुर जीले कोरेको मधेश बिद्रोहको खाका र उहॅाले पहिचान गरेको मुदाहरुकै वरिपरी मधेश आन्दोलन र मधेश राजनीति घुम्दैछ । यस बिचमा स्वघोषित कयौं मधेशी मसिहाहरू आउनु भयो । तर, ठाकुर जीको जस्तो मधेशको एकीकृत संघर्ष गर्न सक्नु भएन । ‘ नेता साहले भने, ‘ अहिलेका नेताहरूले मधेश आन्दोलनलाई जातिवाद, परिवारवाद, पद र पैसावादमा रुपान्तरण गरेको देखिन्छ । मधेश मुक्तीको लागि एकीकृत संघर्ष जरुरी छ ।’
स्वर्गीय ठाकुर मधेशका प्रसिद्ध राजनीतिक चिन्तक, लेखक तथा मधेशी अधिकार आन्दोलनका सशक्त आवाज हुनुहुन्थ्यो । उहॉंको योगदान मधेशका जनताको सांस्कृतिक, सामाजिक र राजनीतिक पहिचान निर्माणमा अतुलनीय रहेको नेता साहले बताए । मधेशी समुदायमाथिको ऐतिहासिक बेवस्था, विभेद र परतन्त्रतालाई स्पष्ट भाषामा उजागर गर्नमा ठाकुरको योगदान रहेको जिकिर नेता साहले गरे ।
‘उहाँको दृष्टिकोण मधेशको राजनीतिक अधिकार, भाषा-संस्कृति र आत्मसम्मानको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित थियो । नेपालको राज्यसंरचनाभित्र मधेशी समुदायको परतन्त्रता, उपेक्षा र विभेदप्रति विरोधमा आधारित छ । उहाँले मधेशी जनताको सामाजिक, सांस्कृतिक र ऐतिहासिक रूपले स्वतन्त्र अस्तित्व रहेको तर राज्यले तिनको पहिचान स्वीकार नगरेको तर्क राख्नुहुन्थ्यो, नेता साहले भने, ‘ उहाँका विचारहरू मधेशको स्वतन्त्र भाषिक, सांस्कृतिक र राजनीतिक अस्मिता कायम गर्न र मधेशी जनता बीच आत्मगौरव जगाउन महत्वपूर्ण छन् ।’
उहाँको सबैभन्दा चर्चित पुस्तक “परतन्त्र मधेश और उसकी संस्कृति” मधेशमाथिको प्रभुत्वशाली राज्य संरचनाको आलोचनात्मक अध्ययन रहेको नेता साहले बताए ।
‘नेपालको एकीकरणपश्चात मधेशलाई अधीनस्थ र शंकास्पद भूभागको रूपमा व्यवहार गरियो । राजनीतिक निर्णय प्रक्रियामा मधेशीहरूलाई सधैंको लागि दोस्रो दर्जाको नागरिकजस्तै बनाइएको छ ।’ ठाकुरको बिचार उधृत गर्दै नेता साहले भने, ‘ मधेशीहरूको भाषा, धर्म, पहिरन, खानपान र संस्कृतिलाई ‘गैर-नेपाली’ को रूपमा चित्रित गरियो । संस्कृतिको एकरूपता बलपूर्वक लादिएको छ । शिक्षा प्रणालीमार्फत पहाडी मूल्य र भाषा मात्र प्रवाह गरिनु, मधेशी बालबालिकामा आत्महीनताको भावना जन्मिनु खतरनाक छ ।’
‘ठाकुर जीको बिचारमा मधेश नेपालको सुदृढ राष्ट्र बनाउन सहायक शक्ति हो, तर त्यसको लागि न्याय र समानताको व्यवहार हुनु आवश्यक छ । राज्यको साँचो समावेशीकरण त्यत्तिबेला मात्र सम्भव हुन्छ, जब सबै भाषिक, जातीय, भौगोलिक समुदायको अस्तित्वलाई समान हैसियतमा स्वीकार गरिन्छ ।’ नेता साहले उल्लेख गर्दै भने, ‘मधेशमाथिको राज्यको संरचनात्मक हिंसा र सांस्कृतिक औपनिवेशिकता विरुद्ध सशक्त बौद्धिक प्रतिवाद गर्न आवश्यक छ ।’