कमला–५ का वडाध्यक्ष शिवा पासमान एमालेमा प्रवेश

जनकपुरधाम । धनुषाको कमला नगरपालिका–५ का निर्वाचित वडा अध्यक्ष शिवा पासमान नेकपा एकीकृत समाजवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मधेश प्रदेश सभा सदस्य लखन दासको पहलमा र नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठको उपस्थितिमा आयोजित कार्यक्रममा पासमान एमालेमा प्रवेश गरेका हुन् ।

बिज्ञापन

पार्टी प्रवेश कार्यक्रममा महासेठले शिवा पासमानलाई र स्थानीय युवा नेता अजयकुमार गोइतलाई टीका र गम्छा लगाएर स्वागत गरे ।

कार्यक्रममा बोल्दै एमाले नेताहरूले नवप्रवेशी नेताहरू पार्टी सुदृढीकरणमा सक्रिय हुने विश्वास व्यक्त गर्दै उनीहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

शिवा पासमान हाल कमला नगरपालिका–५ का वडाध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पटक निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको निर्वाचनमा दोहोर्‍याउँदै पुनः वडाध्यक्ष बनेका थिए ।

पार्टीमा प्रवेश गरेका अर्का नेता अजयकुमार गोइत स्थानीय तहमा सामाजिक तथा राजनीतिक रूपमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छन् ।