नेपाल प्रहरीको तीन एआईजीको गीतमा सन्तोष राजको संगीत

काठमाडौं । नेपाली, भोजपुरी र मैथिली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार सन्तोष राज सहनीले पहिलोपटक एकैसाथ तीन जना नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का गीतमा संगीत दिने भएका छन् ।

नेपाल प्रहरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी तथा गीतकार टेकबहादुर तामाङ, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी चन्द्र कुबेर खापुङ, र प्रहरी प्रधान कार्यालय नक्साल मानव स्रोत विकास विभागका प्रमुख एआईजी दानबहादुर कार्कीका गीतमा सन्तोष राजले संगीत भर्ने पक्का भएको हो । यी तीनैजना एआईजी स्वयं गीत लेख्ने गीतकार पनि हुन् ।

बिज्ञापन

सन्तोष राजका अनुसार ती तीनवटै गीतहरुको संगीत तयारी अन्तिम चरणमा पुगेको छ । उनले भने, ‘इच्छाशक्ति भएपछि जुनसुकै पेशामा रहेका व्यक्तिहरूले सिर्जनात्मक काम गर्न सक्छन् भन्ने सन्देश यिनका गीतले दिन्छ ।’

यसका साथै उनी ठूल्ठूला व्यावसायिक गीतमा पनि व्यस्त छन् । ‘बिदेशमा बोल’ बोलको गीतमा बलिउड गायक उदित नारायण र दीपा नारायणको स्वर हुनेछ भने शब्द सुरेन्द्र महर्जन ‘अमर’ को रहेको छ । उक्त गीत हाल रेकर्डिङ प्रक्रियामा छ ।

त्यस्तै ‘भम तिम्रो आँगनिमा कहिले टेक्ने हो’ बोलको गीतमा बलिउड गायक कुमार सानु र गायिका सेलिना कुँवरको स्वर रहनेछ । गीतकार रमेश कोइरालाको शब्दमा सो गीतको रेकर्डिङ भइरहेको छ ।

त्यस्तै, नेपाली चलचित्र ‘दर्शन नमस्ते–५’ को शीर्ष गीतमा गायक राजेश पायल राईको स्वर रहने भएको छ । सो गीत राजेन्द्र थापाको शब्दमा रेकर्ड हुँदैछ ।

भोजपुरी गीतहरूमा पनि सन्तोष राज उत्तिकै सक्रिय छन् । ‘करना बहाना रानी’ बोलको गीतमा बिक्रम्त मेहता र शिल्पी राजको स्वर रहनेछ भने शब्द उमालाल यादवले लेखेका हुन् । सोहीत, ‘हम त भईनी तोहार’ बोलको गीतमा भने उनले आफैं संगीत र स्वर दिने भएका छन् ।

सीआइबी प्रमुख रहेका एआईजी चन्द्र कुबेर खापुङ भदौ १८ गते आईजिपी (प्रहरी महानिरीक्षक) मा बढुवा हुने तयारी रहेको स्रोतले जनाएको छ ।