कुलमान घिसिङलाई सडकका डीजी जैशीले यसरी मिलाए, त्रुटिपूर्ण डिजाइन गरिएका २ सय पुल जोखिममा

काठमाडौं । सडक बिभागका महानिर्देशक डा. बिजय जैशीका अनियमितताका तथ्य एकपछि अर्को खुल्दैछन् । डा. जैशी पुल महाशाखाको डीई हुँदा पुलको एक्चुअल वाटर वे घटाई इकोनोमिकल डिजाइन गरी ठेकेदारबाट रकम असुली गरेको खुलासा भएको छ ।

एक्चुअल वाटर वे घटाई इकोनोमिक डिजाइन गरेर ठेकोदारको हितमा काम गरेबापत एउटा पुल बराबर ठेकेदारबाट १५–२० लाख रुपैयाँसम्म घुस लिएको आरोप उनीमाथि लाग्दैआएको छ ।

बिज्ञापन

जैशीको पालामा २ सयदेखि २ सय ५० वटा पुलको डिजाइन स्वीकृत गरिएको थियो । ती सबै पुलको डिजाइन कमला नदी, तादी खोला र त्रियुगा नदीको जस्तै कपीपेष्ट गरिएको स्रोत बताउँछ । कपीपेष्ट गरिएका त्रुटिपूर्ण डिजाइनका कारण कारण ती सबै पुल जोखिमपूर्ण अवस्थामा छन् । तादीखोलाको पुल बने पनि हालसम्म संचालन हुनसकेको छैन । उक्त पुलको गाइड बैंकमा समेत समस्या सृजना भई संचालन हुन नसकेको हो । खोलाको बीच भागमा मात्र पुल बनेको छ ।

डा.जैशी पुल महाशाखाको डीई हुँदा डिजाइन स्वीकृत गरिएका कमला, तादी र त्रियुगा पुलमा समस्या आइसकेको छ भने अरु धेरै पुल जोखिमपूर्ण भएको थाहा पाएता पनि भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले उनलाई भरपूर संरक्षण गरेका छन् । छानबिन गर्ने निकायमा समेत उनले डा. जैशीलाई जोगाउने जिम्मा लिएको स्रोत बताउँछ ।

सहसचिव हुँदा शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेकाले पनि उनले जोगाउने कुरामा जैशी ढुक्क भएका छन् । सचिव शर्माले मन्त्री घिसिङलाईसमेत अख्तियारमा आफ्नो राम्रो सम्बन्ध भएको भ्रम पार्दैआएका छन् ।

त्रुटिपूर्ण डिजाइन स्वीकृत गरिएका कारण भासिएको कमला नदी पुल
आर्थिक प्रलोभनमा त्रुटिपूर्ण डिजाइन स्वीकृत गर्नु अनियमितता मात्र होइन, अपराध नै हो । तर यस्तो हुँदा पनि उनलाई जोगाउन शर्मा लागिरहेको स्रोतको दाबी छ । अख्तियारले स्थानीय तहका एकाध लाख रुपैयाँ अनियमितताका घटनामा बढी ध्यान दिएको देखिन्छ । तर ठेकेदारसँग लाभ लिएर पुलको त्रुटिपूर्ण डिजाइन स्वीकृत गर्ने अधिकारीमाथि भने अहिलेसम्म छानबिनसम्म हुनसकेको छैन ।

बैदेशिक महाशाखाको प्रमुख हुँदा ठेक्कामा मिलेमतो

महानिर्देशक डा. जैशी सडक बिभागको बैदेशिक महाशाखाको प्रमुख हुँदा ३५ अर्ब रुपैयाँको ठेक्का लगाएका थिए । उक्त ठेक्काबाट १ प्रतिशतका दरले ३५ करोडभन्दा बढी कमिसन गोजीमा हाली मिलेमतोमा ठूला निर्माण ब्यवसायीलाई ठेक्का दिएका थिए ।

३५ अर्बको ठेक्काबाट असुलिएको कमिसनको भागबण्डा बुझाएर तीन वटा मन्त्रीको कार्यकालसम्म उनी बैदेशिक महाशाखा प्रमुखमा जरा गाडेर बस्न सफल भएका थिए । उनी रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, प्रकाश ज्वाला मन्त्री हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा उनी बैदेशिक महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।

तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग समेत सेटिङ मिलाएर आफूभन्दा बरिष्ठ सहसचिव (सुई) उमेशबिन्दु श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा जगेडामा थन्क्याएर जैशी महानिर्देशक हुन सफल भएका थिए ।

बैदेशिक महाशाखा प्रमुखको मिलेमतोमा ठेक्का दिएको १५ करोड रुपैयाँ शक्तिकेन्द्रमा बुझाएर उनी महानिर्देशक भएको स्रोतको दाबी छ । बिष्णु पौडेलदेखि तत्कालीन भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई सेटिङ मिलाएर उनी महानिर्देशक हुन सफल भएका थिए । उनले देवेन्द्र दाहालका भतिजा मनोज दाहालमार्फत् नजरानाको ब्यवस्थापन गरेका थिए । देवेन्द्र दाहाल भौतिक मन्त्री हुँदा उनका भतिजा मनोजमार्फत् सेटिङ हुने गरेको थियो ।

त्यसो त कमला नदीको पुलको त्रुटिपूर्ण डिजाइन डा. जैशीले नै पेश गरेको तथ्य उजागर भइसकेको छ । अर्कै पुलको कपीपेष्ट गरिएको त्रुटिपूर्ण डिजाइन स्वीकृत गरिएका कारण २४ करोड भन्दा बढी खर्च भएको उक्त पुल भासिएको छ ।

१४ बर्षसम्म पुल निर्माण नहुँदा धनुषा र सिरहाका बासिन्दालाई ठूलो मर्का परेको छ । तर ८ पटक म्यादथप भइसकेको र १४ बर्षसम्म अलपत्र पारेको उक्त पुलको त्रुटिपूर्ण डिजाइन गर्ने मुख्य पात्र डा. जैशीमाथि जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले सडक बिभागको महानिर्देशकमा ससम्मान बिराजमान गराइरहेका छन् ।

मन्त्री घिसिङले कमला नदी पुलको निरीक्षण गरेर फर्र्किएको एक महिना पुगिसकेको छ । त्रुटिपूर्ण डिजाइनकै कारण पुल भासिए पनि त्यो डिजाइन गर्नेलाई जेनजी सरकारले केही कारबाही गर्न सकेको छैन । आठ पटक म्यादथप गर्दा पनि १४ बर्षसम्म पुल निर्माण नगर्ने ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्स र पप्पु कन्ष्ट्रक्सनको ठेक्का रद्द गरी कालोसूचीमा राख्नुको साटो महानिर्देशक जैशी आफ्नो कर्तुत ढाकछोप गर्दै २०८३ असारसम्म पुल निर्माण सकिन्छ भनेर अलमल्याइरहेका छन् ।

परिमार्जित डिजाइनअनुसार सिरहातर्फका बाँकी स्ल्याब हटाउने, पायल क्याप तथा स्टीम ढलान गर्ने र बाँकी स्पानलाई बलियो बनाउने कार्य आगामी असारभित्र सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने दाबी गर्दै भौतिक पूर्वाधार मन्त्री घिसिङलाई समेत उनले अलमल्याउन सफल भएका छन् । जबकि सडक बिभागका अधिकारीहरु उक्त पुल २०८३ असारसम्म कुनै हालतमा पूरा हुनै नसक्ने बताउँछन् ।