
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत सुरक्षा योजना, २०८२ अनुसार नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता डिआईजी अबिनारायण काफ्लेले बताए ।
त्यस्तै, एसएसपीको कमान्डमा आठवटा प्रदेश निर्वाचन सेल पनि प्रहरी प्रधान कार्यालयमा स्थापना भएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीतिबारे प्रहरी अतिरिक्त महानिरीक्षक भन्छन्, ‘आसन्न निर्वाचनलाई निष्पक्ष एवं भयरहित वातावारणमा सम्पन्न गराउन उच्च मनोबालका साथ प्रहरी खटिरहेको छ । निर्वाचन लक्षित सुरक्षा योजना निर्माण एवं परिचालनको लागि स्थानीय तह र अन्य सुरक्षा निकायहरूसँग आवश्यक समन्वय भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ बमोजिम उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूमा प्र.व.उ /प्र.उ को कमान्डमा र जिल्ला प्रहरी कार्यालयहरूमा प्र.ना.उ.-प्र.नि.को कमान्डमा निर्वाचन सेल गठन गरी प्रारम्भिक चरणका कार्यहरू गरिएको छ ।’




भौगोलिक विकटता तथा प्रतिकूल मौसमको कारण हुन सक्ने सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी मतदान केन्द्र तथा मतगणनास्थलसम्म निर्वाचन सामग्रीको ढुवानी तथा सुरक्षा व्यवस्थापनमा प्रहरीले आवश्यक योजना बनाइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले निर्वाचनलाई सम्पन्न गराउन सबै सरोकारवाला पक्ष र अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको छ । विभिन्न राजनीतिक दलहरूसँग नियमित संवाद तथा समन्वय साथै सर्वपक्षीय छलफल, अन्तर्क्रियामार्फत निर्वाचनको वातावरण तयार गर्न प्रहरी क्रियाशील रहेको प्रवक्ता काफ्ले बताउँछन् ।

