
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्ताव अघि बढाइएपछि राजनीतिक अभियन्ता आभाष गुरुले असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुले चितवनमा भइरहेको गतिविधिले नेपालको संघीय व्यवस्थामा तत्कालै कुनै प्रभाव नपारे पनि रास्वको अस्लि चरित्र उदाङिएको बताएका छन । उनले “चितवनतिरको जोकले प्रदेश सभा (संघीयता) को केही तलमाथि हुनेछैन, ढुक्क हुनुस्” भन्दै संघीयता सजिलै समाप्त हुन नसक्ने व्यवस्था भएको उल्लेख गरे।




उनले संघीयता कुनै चन्दा, उपहार वा विर्ताका रूपमा प्राप्त नभएको भन्दै यसलाई सहजै हटाउन नसकिने तर्क प्रस्तुत गरे। “संघीयता चन्दा, उपहार या विर्तामा प्राप्त भएको हो र, यति सजिलै मेटिन्छ?” भन्ने प्रश्न गर्दै उनले संघीयताको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

गुरुले रास्वपाको महाधिवेशनमा मधेशी समुदायको प्रतिनिधित्वबारे पनि प्रश्न उठाएका छन्। उनले मधेशी कोटाबाहेकबाट कुनै मधेशी युवा नेतृत्व तहको पदमा निर्वाचित नहुने संका गरेका छन्। उनको भनाइले रास्वपाभित्र समावेशिता र प्रतिनिधित्वको विषयलाई समेत बहसको केन्द्रमा ल्याएको छ।
चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्तावलाई लिएर विभिन्न राजनीतिक वृत्तमा बहस भइरहेको छ। संघीयताको संरचना, प्रदेश सभाको औचित्य तथा प्रतिनिधित्वका विषयमा फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला अभियन्ता गुरुले यस्तो प्रतिक्रिया दिएक हुन् ।