जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका-३ यदुकुहास्थित सशस्त्र प्रहरी बल बेस यदुकुहामा कार्यरत सशस्त्र प्रहरी इन्स्पेक्टर मनिष कटुवालको बिदाई गरिएको छ । शुक्रबार एक समारोह आयोजना गरेर उहाँलाई दोसल्ला, माला र टिका लगाइ बिदाई गरिएको हो । सशस्त्र प्रहरी इन्स्पेक्टर कटुवालले ६ महिनाको सेवामा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र खुला सिमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा सराहनीय काम गरेको भन्दै उहाँको विशेष सम्मान र मायाको चिनोसहित बिदाई गरिएको हो । सो अवधिमा कटुवालले खुला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग र समन्वयको कारण सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो आउने जाने काम भईरहन्छ तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौं ।’त्यस्तै नयाँ बेस प्रमुख सशस्त्र प्रहरी इन्स्पेक्टर बिकाश नेउपानेलाई स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा वडाध्यक्ष, नेता श्याम चौधरी, गणेश चौधरी, समाजसेवी, ईलाका प्रहरी कार्यालय यदुकुहा प्रमुख इन्स्पेक्टर चन्द किशोर साह (सिके), सशस्त्र प्रहरी बल बेस बालगंगा इन्स्पेक्टर हेमन्त लिम्बू, पत्रकार सन्जिप मण्डल, विपिन यादव लगायतको सहभागिता रहेको थियो ।