सिरहा । नेपाली माध्यममा अध्ययनरत विद्यार्थीहरूकाे अन्तर्निहित प्रतिभा प्रष्फुटन विज्ञान, प्रविधिमा पहुँच र विकासका लागि शुक्रबार सिरहाको लहान नगरपालिका-१२ स्थित माध्यमिक विद्यालय पडरियामा ‘विज्ञान तथा कला प्रदर्शनी’ सम्पन्न भएकाे छ ।
सम्भवतः सिरहाको कुनै सामुदायिक विद्यालयले पहिलो पटक आफ्नो सिर्जनात्मकता, वैज्ञानिक सोच र अनुसन्धान क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रदर्शनीमा विद्यालयका २२ वटा फरक-फरक विधाका आविष्कार लिएर विद्यार्थीहरूले सहभागीता जनाएका थिए । विद्यार्थीहरूले, सोलार सिस्टम, पानी फिल्टर, हरित गृह, मानवको मुटुको रक्त शुद्ध अशुद्ध देखाउने सिस्टम, लगायतका नमूनाले सहभागी तथा दर्शकहरूको ध्यान आकर्षण गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष बद्री नारायण चाैधरीले ‘विज्ञान तथा कला प्रदर्शनी’ को उद्घाटन गर्दै भने, ‘यस किसिमका प्रदर्शनीले विद्यार्थीमा वैज्ञानिक सोच विकास गर्न मद्दत गर्छ । सरकारी विद्यालयका विद्यार्थीहरूमा रहेको प्रतिभालाई उजागर गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छु ।’
जिल्लाको शैक्षिक इतिहासमा एक नयाँ अध्याय थप्दै सिरहामा पहिलो पटक सरकारी विद्यालय विद्यार्थीहरूको विज्ञान तथा कला प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ ।
विद्यार्थीहरूले प्राकृतिक स्रोत, वातावरण संरक्षण, स्थानीय समस्या समाधान, सरल यन्त्र निर्माण, नवीनतम प्रविधि र स्वास्थ्य जस्ता विषयमा आधारित आकर्षक प्रोजेक्टहरू प्रस्तुत गरे ।
केही उल्लेखनीय प्रदर्शनहरूमा सौर्य उर्जाबाट सिँचाइ प्रणाली, प्लास्टिक अपशिष्टबाट निर्माण सामग्री, स्थानीय जैविक विविधताको डिजिटल अभिलेख, रोग निदानका साधन र सामुदायिक स्वच्छतासम्बन्धी अभिनव मोडेलहरू समावेश
थिए ।
कार्यक्रमका संयोजक माध्यमिक विद्यालय पडरियाका युवा प्रधानाध्यापक मनोज कुमार यादवका अनुसार यस प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता र प्रयोगात्मक ज्ञानको विकास गर्नु र सरकारी विद्यालयहरूमा पनि उच्चस्तरीय विज्ञान शिक्षा सम्भव छ भन्ने प्रमाणित गर्नु रहेको छ । उनले भने, ‘यो हाम्रो पहिलो प्रयास हो, तर विद्यार्थीहरूको उत्साहले यसलाई वार्षिक कार्यक्रम बनाउने हामी प्रेरित भएका छौं ।’
‘यसले हाम्रा विद्यार्थीमा आत्मविश्वास र टीम वर्क बढाउन मद्दत गर्यो । स्रोत सीमित भए तापनि उनीहरूले गरेका आविष्कारहरू गौरव गर्न योग्य छन् ।’
यस ‘ऐतिहासिक’ आयोजनालाई सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा र व्यावहारिक ज्ञान विकासको सकारात्मक संकेतको रूपमा सराहना गर्दै विद्यार्थीहरूको सृजनशीलतालाई ‘अभूतपूर्व’ र ‘प्रेरणादायी’ रहेको एक अभिभावकले बताए ।
एक सहभागी विद्यार्थीका अनुसार सैद्धान्तिक पढाइभन्दा फरक यसरी हातेसँग प्रयोग गर्न पाउँदा विज्ञानको रमाइलो लागेको जिकिर गरिन यसको सफलतापछि विद्यालय प्रशासनले आगामी वर्षदेखि यसलाई ठूलो रूपमा आयोजना गर्ने लक्ष्य राखेको छ ।
सिरहाको पहिलो सरकारी विद्यालयको विज्ञान प्रदर्शनीले केवल विद्यार्थीहरूको वैज्ञानिक प्रतिभा मात्र होइन, तर सामुदायिक सहयोग र शिक्षकहरूको समर्पणलाई पनि उजागर गरेको छ । यसले सरकारी शिक्षण संस्थाको गुणस्तर र व्यावहारिक शिक्षणप्रतिको बढ्दो पहलको रूपमा ऐतिहासिक महत्त्व राख्छ ।
अतिथिका रुपमा वडा सदस्य महेश्वर सिंह, विद्यालय व्यवस्थापन समितिका सदस्य रामकुमार चाैधरी, नारायण पासमान, अभिभावक, शिक्षक- शिक्षिका, विद्यार्थीहरू समेतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा विभिन्न कक्षा र सदनका विद्यार्थी गरि जम्मा २२ वटा स्टल रहेका थिए । कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूकाे प्रतिभालाई मुक्त कण्ठले प्रशंसा समेत गरेका थिए ।