अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको कमला नगरपालिका ८ टेढामोड़स्थित श्री माध्यमिक विद्यालय टेढामोड़ले विद्यालयमा अध्ययनरत छात्रछात्राहरूका लागि ५ बुँदे नियम लागू गरेको छ ।
विद्यालय प्रशासनले विद्यार्थीको अनुशासन र पठन–पाठनमा सुधार ल्याउने उद्देश्यले ती नियमहरू कडाइका साथ पालना गराउने जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सरोज कुमार शर्माले सबै विद्यार्थीहरूलाई समयमै विद्यालय आउन र निर्धारित समयमा नै फर्कन अनिवार्य गरिएको जानकारी दिए । साथै विद्यार्थीहरूलाई नङ काटेर आउन, कपाल मिलाएर आउन, विद्यालय पोशाकमा मात्र उपस्थित हुन र अनुशासित देखिने गरि विद्यालय वातावरणमा बस्न निर्देशन दिइएको छ ।
शर्माका अनुसार विद्यार्थीहरूले विद्यालय हाताभित्र मोबाइल फोन लिएर आउन पाउने छैनन् । यस्तै, कानमा बाला, कुण्डल, औंठी जस्ता गहना लगाएर विद्यालय आउनसमेत निषेध गरिएको छ ।
विद्यार्थीको अध्ययनमा ध्यान जानु पर्ने हो। अनावश्यक तडकभडकले ध्यान विचलित बनाउँछ, प्रधानाध्यापक शर्माले भने, त्यसैले यस्ता नियम लागू गर्नु परेको हो ।
विद्यालयले लागू गरेको नयाँ नियमको सूचना कक्षाकोठा र सूचना पाटीमार्फत सबै कक्षामा टाँस गरिएको छ । नियम उल्लंघन गर्ने विद्यार्थीमाथि आवश्यक अनुशासनात्मक कारबाही गरिने विद्यालय प्रशासनले स्पष्ट पारेको छ ।