जनकपुरधाममा पत्रकारमाथि आक्रमणबारे अध्ययन गर्न महासंघद्वारा मिसन टोली गठन

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले जग्गा संरक्षणका क्रममा भएको हुलदङ्गा र पत्रकारमाथिको आक्रमणबारे अध्ययन गर्न महासंघले केन्द्रीय मिसन टोली गठन गरेको छ ।

महासंघको केन्द्रीय कार्यालयले केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्य राजेशकुमार कर्ण र राजु विश्वकर्मालाई सदस्य बनाएर तीन सदस्यीय टोली गठन गरेको हो । महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत टोलीले सबै पक्षसँग छलफल र परामर्श गरेर छिट्टै प्रतिवेदन पेश गर्ने जानकारी दिएका छन् । “प्रतिवेदनका आधारमा महासंघले आवश्यक कदम चाल्नेछ,” विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

मंगलबार जनकपुरधाममा महासंघ मधेश प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानुनी प्रक्रिया पूरा गरेर लिएको जग्गा संरक्षण गर्न घेराबार गर्ने क्रममा धनुषा जिल्ला बार अध्यक्ष विमल मिश्रको नेतृत्वमा आएको समूहले अवरोध पुर्‍याउँदै हुलदङ्गा गरेको थियो ।

घटनामा महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, अनिल निराला र विनिता यादवलगायतलाई शारीरिक आक्रमण गरिएको महासंघले जनाएको छ ।

महासंघका अनुसार जग्गा कब्जा गर्ने प्रयासका क्रममा भएको सो घटनाको कारण, दोषी पहिचान र कानुनी प्रक्रियाबारे स्पष्टता ल्याउन मिसन टोली खटाइएको हो ।