ठगीको जालोमा पर्दै नेपाली

बर्दिया । भारतीय ठगको जालोमा परेर नेपाली फस्न थालेका छन् । ह्वाट्सएपमार्फत ट्र्यापमा पारेर नेपाली बैङ्कमा खाता खोल्न लगाई भारतीय ठगले नेपालीलाई पनि ठग बनाइरहेका छन् । सोही क्रममा बर्दिया जिल्लामा तीन जना युवा ठगी मुद्दाको आरोपमा पक्राउ परेका छन् । मधुवन नरपालिकामा बस्ने (नाम ठेगाना गोप्य राखिएको) एक महिलालाई गत असार ३२ गते भारतीय ह्वाट्सएप नम्बरबाट फोन आउँछ  । सुनका गहनासहितको उपहार चिट्ठामा परेको र भन्सारबापतको रकम २५ हजार रुपियाँ पठाउन बैङ्क खाता र क्युआर पठाइन्छ ।

रकम नपठाएमा र कोहीकसैलाई जानकारी दिएमा नग्न फोटो र भिडियो बनाएर श्रीमान् र आफन्तलाई पठाउने धम्की पनि आउँछ । पीडित महिलाले बेइज्जत हुने डरले भारतीय ठगले दिएको चार जना नेपालीकै खातामा तीन लाख ८५ हजार रकम पठाउनुहुन्छ । जसमध्ये एक खाता थियो बारबर्दिया नगरपालिका–६ बस्ने जगतराम थारूको । रकम माग्ने क्रम नरोकिएपछि ठगी भएको भन्दै इलाका प्रहरी कार्यालय ढोढरीमा उहाँले उजुरी दिनुहुन्छ । उजुरीका आधारमा बारबर्दिया नगरपालिका–६ का जगतराम थारू पक्राउ परेपछि उहाँको बयानका आधारमा टोलीका मुख्य व्यक्ति बारबर्दिया नगरपालिका–११ बस्ने बिनामिन विक र सोही ठाउँ बस्ने अर्का व्यक्ति वीरबहादुर सुनार पक्राउ परेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

ठगीको जालोमा संलग्न नेपालका मुख्य व्यक्ति बिनामिन विक भएको प्रहरीले जनाएको छ । विकको बयानका अनुसार करिब छ महिनाअगाडि युट्युबमा गरिबलाई सहयोग गर्ने भन्दै गरेको भिडियो हेरर हर्स साइ नाम गरेको भारतीय ह्वाट्सएपमा जोडिनुहुन्छ ।

उहाँले २० जना मान्छेको खाता खोलेमा २५ लाख रुपियाँसम्म पाउने प्रलोभनमा परी आफ्नोसहित नौ जनाको नाममा १३७ वटा बैङ्क खाता र मोबाइल बैङ्किङ, १०/१० वटा इसेवा र खल्ती खाता खोली भारतीय व्यक्तिलाई आइडी पासवर्ड दिनुहुन्छ । जसबापत पाँच लाख रकम भारतीय व्यक्तिबाट बुझेको उहाँको बयानमा खुलेको छ । विकको घरबाट १३ वटा सिमकार्ड, चेकबुक ११ ठेली र पाँच वटा एटिएम कार्ड फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताउनुभयो । विकको प्रलोभनमा परेपछि छिमेकी नातेदार वीरबहादुर सुनारले चार जना आफन्त र छिमेकीको नाममा ६८ वटा खाता र मोबाइल बैङ्किङ खोली भारतीय व्यक्तिलाई पठाई दुई लाख रुपियाँ बुझेको अनुसन्धानबाट खुलेको छ ।

अर्का जगतराम थारूले पनि ६८ वटा खाता र मोबाइल बैङ्किङ खोली एक लाख ५० हजार रुपियाँ बुझेको खुलासा भएको छ । तीन जनाले १५ जना व्यक्तिको नाममा २३९ भन्दा बढी बैङ्क खाता खोलेको अनुसन्धानबाट खुलेको हो । त्यसै गरी हरेक व्यक्तिका नाममा १०/१० वटा इसेवा र खल्ती खाता पनि खोलिएको छ । आरोपीलाई ठगी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।

ठगी गर्ने भारतमा रहेको मुख्य व्यक्तिसमक्ष भने प्रहरी पुग्न नसके पनि गिरोहले फसाएको बर्दियाका मुख्य व्यक्तिलाई पक्राउ गरी जालो तोडेको छ । नेपाली नम्बरबाट जुनसुकै ठाउँमा पनि ह्वाट्सएप चल्नु, मोबाइल बैङ्किङ जुनसुकै देशबाट बिनासिम चल्नाले पनि नेपालीलाई सहजै ठगिरहेको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक सेनले बताउनुभयो ।