
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । यो सँगै उनी पदमुक्त भएका छन् ।
प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् । उनका अनुसार प्रदेश सभा बैठकमा ७८ सांसदको उपस्थित थियो ।




गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमार कान्त झाले सो प्रस्ताव छलफलका लागि बैठकमा पेस गरेका थिए । सो उपरको छलफलमा लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका प्रदेश सांसदहरू मनिष कुमार सुमन, सञ्जय कुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी प्रदेश सांसदहरू जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए ।
त्यसपछि निर्णयार्थ प्रस्तुत गरी मत विभाजन मार्फत पारित गरिएको हो । बैठकमा नेकपा एमालेबाट भने एकजना प्रदेश सांसद सुरुको बैठकमा उपस्थित भए पनि स्थगित भए पश्चात पुनः सुरु भएको बैठकमा कोही उपस्थित थिएनन् ।
