
जनकपुरधाम । सिराहा नगरपालिकाका नगर प्रमुख डा. नविन कुमार यादवले आफू फरार रहेको हल्लालाई अस्वीकार गर्दै हालको विवादलाई अनावश्यक रूपमा राजनीतिकरण गरिएको दाबी गर्नुभएको छ ।
उहाँले सिराहा नगरपालिकामा हाल देखिएको विवाद सामान्य प्रकृतिको भएको बताउँदै वास्तविकता भन्दा बाहिर गएर प्रचार गरिएकोप्रति दुःख व्यक्त गर्नुभयो ।
मेयर यादवका अनुसार स्वास्थ्य शाखाका एक कार्यालय सहयोगीसँग भएको भनिएको विवाद कुटपिटसम्म नपुगेको स्पष्ट पार्दै भन्नुभयो, “कार्यालय सहयोगीलाई मैले किन ढिलो आयो भनेर सोध्दा उनले आफैं कुरा बढाउँदै लगे । त्यसक्रममा लफडा भयो र उनी आफैं आत्तिएर भित्तामा ठोक्किँदा घाइते भएका हुन् ।”
उहाँले घटनापछि तुरुन्तै जिल्ला प्रहरी प्रमुख (एसपी) लाई जानकारी गराएको र प्रहरी टोली आएर ती सहयोगीलाई सुरक्षित रूपमा अस्पताल पठाएको जानकारी दिनुभयो ।
नगरपालिकाभित्र भइरहेको गतिविधिलाई राजनीतिकरण गरिएको भन्दै मेयर यादव भावुक हुँदै भन्नुहुन्छ, “म फरार छैन, म आफ्नो काममै व्यस्त छु । जसले भेट्न चाहन्छ, खुलेर आएर भेट्न सक्छ ।”
आफूविरुद्ध फैलाइएका आरोपप्रति प्रतिक्रिया दिँदै उहाँले पुनः जोड दिनुभयो, “मैले कसैलाई पिटपाट गरेको छैन । उल्टै ममाथि गालीगलौच भएको हो, र त्यसका प्रमाण मसँग छन् ।”
मेयर यादवले आफूलाई योजनाबद्ध रूपमा फसाउने प्रयास भइरहेको संकेत गर्दै अन्ततः सत्य बाहिर आउने विश्वास व्यक्त गर्नुभयो । “यदि कसैले षड्यन्त्र गरेर बदनाम गर्न खोजेको हो भने, त्यो धेरै दिन टिक्दैन । मसँग भएका प्रमाणसहित सबै कुरा सार्वजनिक गर्नेछु,” उहाँले भन्नुभयो ।
केही मिडियाले भ्रामक ढंगले समाचार प्रस्तुत गरेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले यस्ता गतिविधिले सत्यलाई लुकाउन नसक्ने स्पष्ट पार्नुभयो ।
“सत्य सधैं उजागर हुन्छ,” भन्दै उहाँले अन्ततः न्याय र यथार्थ बाहिर आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।



