मधेशमा स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचारको खेल : स्पेसिफिकेसन लक गरी करोडौंका ठेक्का, औषधि र उपकरण खरिदमा सेटिङ्गको आरोप

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा नीतिगत तहबाटै भ्रष्टाचार भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरू मध्ये प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत उपकरण, औषधि र पौष्टिक आहार खरिदमा मिलेमतो (सेटिङ्ग) गरिएको दाबी गरिएको हो।

मन्त्रालय निकट स्रोतका अनुसार स्वास्थ्य उपकरण खरिद प्रक्रियामा ‘स्पेसिफिकेसन लक’ गरी निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी करोडौं रुपैयाँका ठेक्का आह्वान गरिएको छ। यसले प्रतिस्पर्धा सीमित बनाउँदै पूर्वनिर्धारित कम्पनीलाई लाभ पुर्‍याउने उद्देश्य देखिएको आरोप छ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयमै कार्यरत एक कर्मचारीले नाम नबताउने सर्तमा भने, “करोडौं मूल्यका स्वास्थ्य उपकरण खरिद गरिन्छ, तर प्रयोग नहुँदा थन्किएर बिग्रिने अवस्थामा पुगेका छन्। आवश्यकताको मूल्यांकन नगरी कमिसनका लागि मात्रै खरिद प्रक्रिया अगाडि बढाइएको देखिन्छ।”

उनका अनुसार उच्च तहसम्मको मिलेमतोमा यस्ता ठेक्काहरू निकालिने गरिएको छ। “मुख्यमन्त्रीदेखि मन्त्रीसम्मको सेटिङ्गमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्ने उद्देश्यले काम भइरहेको छ,” उनले भने।

औषधि खरिद प्रक्रियामा पनि उस्तै अनियमितता भएको आरोप छ। सामान्यतया आइटम वाइज (प्रत्येक औषधि छुट्टाछुट्टै) ठेक्का आह्वान गर्नुपर्नेमा प्याकेज बनाएर एउटै कम्पनीलाई मिल्ने गरी प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ। यसले साना तथा प्रतिस्पर्धी कम्पनीहरूलाई प्रतिस्पर्धाबाट बाहिर राख्ने अवस्था सिर्जना गरेको आरोप लागेको छ।

यता, ९७ करोड रुपैयाँ बराबरको पौष्टिक आहार (पिठो) खरिद योजना पनि विवादमा तानिएको छ। उक्त ठेक्का निकाल्न ‘मेडिकल माफिया’ हरूले मधेश भवनमा रातारात सेटिङ्ग मिलाउन दौडधुप गरिरहेको आरोपसमेत लागेको छ।